खजुरामा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम संचालन
Monday, March 10th, 2025, 10:36 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ फागुन
लायन्स तथा लियो क्लब अफ नेपालगन्ज खजुराको आयोजनामा जेन जेड एआई कनेक्ट भि जिरो.एक नामक आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम संचालन गरिएको छ । खजुरा गाउँपालिकाको मुख्य सहकार्यमा नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको सौजन्यतामा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धिको अवधारणा, दैनिक जीवनमा यसको उपयोग, देखा पर्ने समस्याहरु तथा त्यस्ता समस्या समाधान र सदुपयोग गर्ने तरिकाका बारेमा प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले आइटीको युग प्रवेश गर्ने क्रममा खजुराका युवा वर्गलाई यसको फाइदा र नोक्सानीसँग परिचित गराउनु समयअनुकुल रहेको उल्लेख गर्नुभयो । उहाँले यहाँका युवाहरुले यसको सदुपयोग गरेर आफ्नो भविष्य निर्माण गर्न सक्षम बन्न यो कार्यक्रम सहयोगी हुने र स्मार्ट गाउँपालिकाको परिकल्पनालाई साकार पार्न सहज बनाउने बताउनुभयो ।
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले नेपालगन्ज क्षेत्रमा सबैलाई गुणस्तरीय प्राविधिक शिक्षा प्रवाह गरिरहेको र यो कार्यक्रमले खजुराका युवाहरुमा उच्च शिक्षामा योगदान पुर्याउने तथा बिसिए र बिएस सि, सिएस आइटी अध्ययनमा उचित मार्गदर्शन प्रदान गर्ने अपेक्षा लिइएको छ । कार्यक्रमलाई सफल बनाउन खजुरा क्याम्पस तथा लिटिल हार्वर एकेडमी खजुराको प्रभावकारी भूमिका रहेको कार्यक्रमलाई कृष्ण भण्डारीले संचालन गर्नुभएको थियो । कार्यक्रममा टिआरटिआई कलेज नेपालगन्जका निर्देशक भगत नेपालीले सहभागि विद्यार्थीहरुलाई असल भविष्य निर्माण गर्न मागदर्शन गर्नुभएको थियो । साथै विद्यार्थीहरुलाई आफ्नो सीप । क्षमता विकास गरेर दक्ष जनशक्तिको रुपमा विकासित हुन र सफल बन्न कलेजले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
म्यानेजमेन्ट एण्ड टेक्नोलोजी विज्ञ एकाडमिक कोर्डिनेटर तथा व्रिलियन्ट आइटी सोल्यूशनका संचालक अंकित श्रीवास्तवले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा किग्स एजुकेशनल कन्सल्टेन्सीले विभिन्न मुलकुमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहयोग तथा प्ररामर्श दिने जनाएको छ । कार्यक्रममा भरपर्दो र गुणस्तरीय इन्टरनेट वर्ल्डलिंकले प्रदान गरेको थियो ।