जन्मदिनलाई मानवीय सेवामा सर्मपित गर्दै विद्यार्थी नेता रावल
Thursday, June 12th, 2025, 8:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ जेठ
पछिल्लो समय प्रायः युवाहरुले आफनो जन्मदिन मनाउनको लागि महँगा होटल तथा रेष्टुरेन्टलाई रोज्ने प्रचलन बढ्दो छ । तर महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विद्यार्थी नेता सन्तोष रावल(आरएस)ले भने आफनो २८औं जन्मदिनको अवसरलाई सामाजिक तथा मानवीय कार्यमा सर्मपित गरेर मनाउनु भएको छ ।

……….
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा एमए राजनितिशास्त्रमा अध्ययनरत रावलले बिहिबार भेरी अस्पताल परिसरमा आफना साथीभाई र सहयोगीको सक्रियतामा रक्तदान कार्यक्रम र बिरामीहरुलाई फलफुल वितरण गरेर आफनो जन्मदिन मनाउनु भएको छ ।
नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार नेपालगन्जको सहकार्यमा गरिएको रक्तदानमा २८ जना युवाले २८ पिन्ट रगत रक्तदान गर्नु भएको थियो । विद्यार्थी नेता रावलले आफनो २८औं जन्मदिनको अवसरलाई सामाजिक कार्य गरेर मनाउने सोच अनुसार बिरामीहरुलाई फलफुल वितरण गर्दै रक्तदान गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘युवाहरु भनेको समाजमा सकारात्मक परिवर्तन गर्ने संवाहक हुन । युवाले समाजलाई राम्रो सन्देश दिने कार्य गर्नु पर्छ । हामी जस्तै धेरै युवाले आफनो जन्मदिनमा अनावश्यक रुपमा पैसा खर्च गछौं । तर त्यसले समाजमा कुनै फाइदा गरेको जस्तो लाग्दैन् । आफनो विशेष अवसरमा गरिब, दुख र समस्यामा परेको मानिसलाई रगत दिन सक्नु भनेको पुण्यको काम हो । यसले अरु युवालाई पनि प्रेरणा मिल्छ भन्ने मलाई लाग्छ ।’
रावलले बिहिबार भेरी अस्पतालको सुत्केरी वार्ड, डायलसिस वार्ड, जेष्ठ नागरिक वार्ड र सिकलसेल एनिमिया वार्डमा रहेका बिरामीलाई फलफुल वितरण गर्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो । त्यस अघि भेरी अस्पताल स्थित नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चारमा भएको कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाहले ब्यानर पढेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । विद्यार्थी नेता रावलले समाजमा सकारात्मक सन्देश दिने गरेर गरेको रक्तदान कार्यक्रम र फलफुल वितरण कार्यक्रमको अध्यक्ष शाहले प्रशंसा गर्नु भएको थियो ।
विद्यार्थी नेता रावल गत चैतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संगठनको तर्फबाट सभापति पदको उम्मेदवार हुनुहुन्थ्यो ।