कागजमा खुला दिसा मुक्त क्षेत्र, सडकमा खुला दिसा पिसाब कायमै
Saturday, June 28th, 2025, 7:28 pm
Kalpristha
९० प्रतिशत घरमा शौचालय बनेपछि हतारिएर खुला दिसा मुक्त क्षेत्र घोषणा गरेका स्थानीय तहले त्यसपछि बाँकी रहेका घरमा शौचालय बनाउन र खुला दिसा पिसाब रोक्न काम नगर्दा सडकमा खुला दिसा पिसाब गर्ने परिपाटी रोकिएन् ।
साबित्री बिश्वकर्मा
नेपालगन्ज, १४ असार
बाँकेको नेपालगन्ज उप महानगरपालिका वि.स.२०७५ असार २८ मा खुला दिसा मुक्त क्षेत्र घोषणा भयो । तर अझैसम्म पनि खुला दिसा मुक्त भने हुन सकेको छैन् । ९७ प्रतिशत घरमा शौचालय बनेको भन्दै हतारिएर नेपालगन्जले खुला दिसा मुक्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि बाँकी रहेका घरमा शौचालय बनाउन र खुला दिसा पिसाब रोक्न काम नगर्दा सडकमा खुला दिसा पिसाब गर्ने परिपाटी नरोकिएको हो । तत्कालिन समयमा डा.धवल संशेर राणा नगर प्रमुख हुँदा तेह्र बुँदे प्रतिबद्धता सहित खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
हालसम्म पनि व्यवहारिक रुपमा खुला रुपमा दिसा पिसाब मुक्त हुन नसकेको पुरैनी, जयसपुर, पिरलीपुरवा लगायत क्षेत्रहरु रहेका छन् । प्रतिबद्धताको बुँदा नम्बर नौ मा सबै वडामा वडास्तरिय निगरानी संजाल गठन गरि निरन्तर निगरानी गर्ने भन्ने लेखिएको छ । तर निगरानी हुन नसकेको प्रत्यक्ष रुपमा देख्न सकिने पुरैनी कि स्थानीय लक्ष्मि बिष्ट बताउँछिन् । उनी भन्छिन् “विहान र बेलुका शौचका लागि सडकको किनारा तथा खेतमा बसेका हुन्छन् । स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणबाट महिलाहरु अझँ धेरै जोखिममा रहेको कुरा कसरी बुझाउनु । स्थानीय निकायले पनि टुलुटुलु हेरिरहेको छ ।”
वडा नं. २१ र २२ मा पर्ने पुरैनी स्थित कान्तिताल घुम्न पुगेकी लक्ष्मी तिमिल्सेनाले खुला दिसा पिसाब देख्दा घुम्न आउनेको मन पनि खिन्न हुने बताइन् । उनले भनिन् “यसरी खुला रुपमा दिसा पिसाब गर्नु भनेको सरकार भौतिक विकासमा लगानी गर्न र त्यसबाट प्राप्त हुने उपलब्धि मा मात्र सिमित हुनु र मानविय चेत विकासमा भने चुक्नु हो ।” त्यस्तै बर्दिया घर भएका बिजय कसेरा नेपालगन्ज आएको बेला बिहानै मर्निङ वाकको लागि कान्ति ताल गए तर विहानै वरिपरि खुला रुपमा दिसापिसाब गरेको देख्दा स्वच्छ भनी गएको वातावरणलाई स्थानीयले नै दुषित बनाइरहेको उनले बताए । उनी भन्छन् “यसरी खुला रुपमा शौच गर्नूले आँफु जस्तो आन्तरिक पर्यटकलाई हतोत्साहित गर्नु हो । अब यहाँको बारेमा मैले के भनेर अरुलाई भन्ने ? स्थानीय निकायले ध्यान दिन सकिरहेको जस्तो लागेन् । यस्तो पर्यटकीय क्षेत्रलाई समेत असर पु¥याइरहेको छ ।”
तत्कालिन समयमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्नको लागि प्रहरी प्रशासन समेत संचालन गरिएको वडा नं.९ की स्थानीय गौरी चौधरी बताउँछिन् । घोषणा पश्चात भने प्रहरी प्रशासनले कुनै पहल नगरेको र अझै वडा नं.९ पिरलीपुरवाका केही स्थानीयले शौचालय प्रयोग नगरी खुला रुपमा शौच गरिरहेको चौधरीले बताइन् ।
यस विषयमा वडा नं.२२ का वडा अध्यक्ष अब्दुल गफ्फार हल्वाई भने इन्कारी छ । उने भने “कान्तितालको वरपर खुला दिसा छैन् । जोधा पुरवा, खल्ला पुरवा, किंगरियन पुरवा, लोनियन पुरवामा भने केहि व्यक्तिहरुले खुला दिसा पिसाब गर्छन् ।” वडाले कोसिस धेरै गरिरहेको भएपनि बिस्तारै हुने उनले बताए । शौचालय सबैको घरमा छ तर केहि अशिक्षित मानिसहरुले खुला रुपमा दिसा पिसाब गरिरहेका छन् । उनीहरुलाई प्रहरी प्रशासन नै संचालन गरेर रोक्न सक्ने उनी बताउँछन् ।
त्यस्तै वडा नं.२१ का वडाध्यक्ष राज कुमार साहुले भने खेतिबाली हेर्न जाने केही व्यक्तिले खुला रुपमा गरेपनि अरु सबैले शौचालय नै प्रयोग गर्ने बताउँछन् ।
शौचालय निर्माणका लागि केही विपन्न परिवारलाई सहयोग समेत गरेको थियो महानगरले । वडा नं. ९ का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मीले केही बालबालिका र वडाका केहि परिवारहरु खुला रुपमा दिसा पिसाब गर्ने स्वीकार्दै त्यस्ता व्यक्तिलाई तत्काल सचेतना फैलाउने बाहेक केही गर्न नसक्ने बताउँछन् । उनी भन्छन् “यो विषय आँफैमा संवेदनशील विषय हो तर उपमहानगरको कुनैपनि बैठक तथा भेलामा यो कुरा उठेकै छैन् र निगरानीका लागि भनेर छुट्टै नियम लागु भएको छैन् । उपमहानगर भित्र कँहि पनि अहिलेसम्म जरिवाना गरेको समेत सुनिएको छैन् ।” तेह्र बुँदे प्रतिबद्धता कार्यान्वयन हुन सकेमा सतप्रतिशत खुला दिसा मुक्त क्षेत्र व्यवहारिक रुपमा नै लागु हुन सम्भव हुने उनको मत रहेको छ ।
वडा स्तरिय निगरानी संजालले खुला दिसा पिसाब गरेको देखेमा पहिलो पटक पाँच सय रुपैँया जरिवाना, दोस्रो पटक एक हजार रुपैँया जरिवाना र नाम सार्वजनिक गर्ने र पटक पटक यस्तो गरेमा पाँच हजार रुपैँया जरिवाना गर्ने र सामाजिक वहिष्कार गरि कानूनी कारवाही गर्ने प्रतिबद्धताको तेह्र नम्बर बुँदामा उल्लेख छ । तर पनि अहिलेसम्म कसैलाई प्रतिबद्धता बमोजिम जरिवाना कारवाही नभएको वडाध्यक्ष रेग्मीले बताए ।
खानेपानी तथा सरसफाई कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र खत्रीका अनुसार शौचालय निर्माण गरेको तर प्रयोग नगर्ने गरेका कारण पनि खुला ठाँउमा दिसा पिसाब गर्न नरोकिएको हो । शौचालयमा विभिन्न सामग्री थुपारेर राख्ने, खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेपछि छुट्टिएका, नयाँ घर बनाएका व्यक्तिहरुले शौचालय निर्माण गर्न नसकेको लगायत कारणले गर्दा पनि घोषणा कागजी रुपमा भएपनि व्यवहारिक रुपमा कायम भैरहन नसकेको उनी बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिका आँफैमा धार्मिक, राजनैतिक र सामाजिक इतिहास बोकेको उपमहानगर हो । नेपालगन्ज उपमहानगरपालिकालाई पर्यटकीय दृष्टिकोणबाट हेर्दा पर्यटनको लागि महत्वपूर्ण कुरा यहाँको मौलिकता, स्थानीय वस्ति वासिन्दा, रहनसहन र रैथाने कुरा हो । तर खुला रुपमा दिसा पिसाब गर्नुले “पहिलो गास मै ढुंगा लाग्ने” उखानलाई प्रतिनिधित्व गर्दछ ।
यहाँ हुने हरेक प्रकारको गतिविधीले निकै महत्व राख्दछ । यसर्थ खुला रुपमा गरिने दिसा पिसाबलाई पनि सामान्य रुपमा लिन नहुने यसले पर्यटनको क्षेत्रमा पार्ने प्रभावलाई संवेदनशील रुपमा लिनुपर्ने पर्यटनकर्मी तथा नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । उनी भन्छन् “यस्तो कुरा पर्यटकलाई देखाउने कुरै होइन ।
सरसफाई त पूर्णरुपमा सबैठाउँमा हुनु पर्दछ । तर खुला दिसा मुक्त क्षेत्र घोषणा एकातिर कार्यान्वयन एकातिर भएकोले गर्दा पनि पर्यटक आउँदा यहाँका नागरिक कति असभ्य छन्, चेतनाको स्तर कँहा छ भन्ने देखाउँछ ।” उनका अनुसार यो प्रत्यक्ष रुपमा राजनिति संग जोडिएको कुरा हो । राजनिती चासो र राजनितीक रुपमा सशक्त तरिकाले सम्बोधन गर्न सके यो समस्या समाधान हुनसक्ने अध्यक्ष सिक्देलको भनाई छ ।