बाँकेमा १४ प्रतिशत धान रोपाई
Monday, June 30th, 2025, 7:52 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, असार १६ गते
बाँकेमा असार मध्य सम्म करिब १४ प्रतिशत धान रोपाई सकिएको छ । असार १५ गते आइतबार विभिन्न स्थानीय तहमा धान रोपाई कार्यक्रम भइरहँदा बाँकेमा भने अधिकांश खेत बाँझै छन् । कृषि ज्ञान केन्द्र बाँकेले आइतबार सम्मको तथ्याङ्क अनुसार जिल्लाका आठवटै स्थानीय तहमा गरी करिब १४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जिल्लामा हालसम्म फाट्टफुट्ट मात्रै धान रोपाइँ भएको बताउनु भयो । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी समेत रहनु भएका वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले भन्नु भयो, ‘बाँकेमा असार पछि मात्रै रोपाइँ सुरु हुने भएकाले अहिले भएको रोपाइँ कम भएको हो । अघिल्ला वर्ष जस्तै हो, असार अन्तिम सम्म धान रोपाइँको क्षेत्रफल बढ्ने निश्चित छ ।’
कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको राप्तीसोनारीमा सबैभन्दा बढी धान रोपाइँ भएको छ । कतिपय किसानले समयमै पर्याप्त वर्षा नभएपछि खोला तथा नहरमा पम्पसेटसँगै घरमा मोटर, खाने पानीको धारा प्रयोग गरेर धानको बिउ राखेका थिए ।
बाँकेमा जिल्लाभर आर्थिक वर्ष २०८०÷०८१ मा ३४ हजार ६ सय ७५ हेक्टर क्षेत्रफल र आर्थिक वर्ष २०८१÷०८२मा भने ३४ हजार ५ सय २ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिने कृषि ज्ञान केन्द्रले राखेको तथ्याँकमा उल्लेख छ । बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भएपनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन सकेका छैनन् । जसका कारण किसानहरु अहिले पनि आकाशे वर्षाको भर पर्न बाध्य भएका छन् ।
यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि करिब २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । देशभरि १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा २ लाख ८१ हजार ८ सय ४ हेक्टर जमिनमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो । गत वर्षको तुलनामा यो वर्ष अहिलेसम्म १ प्रतिशत रोपाइँ कम भएको छ । त्यस्तै लुम्बीनी प्रदेशमा करिब २४.३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा २२.८ प्रतिशत धान रोपाइँ भएको थियो ।