त्यसपछि फेरि कहिल्यै आएन शोभालाई तीज
Tuesday, August 26th, 2025, 9:36 am
Kalpristha
शिवानी विक
कोहलपुर, १० भदौं
वि.स.२०५९ भदौ २३ गते तीजको दिन । नेपालगन्जकी शोभा विसी व्रत,दर,तीज र हाँसोमै रमाइरहेकी थिइन् । त्यसअघि श्रीमानको दीघायूूको लागिको वर्त पनि बसेकी थिइन् । प्रार्थना गरेकी थिइन्,शीरका श्रीमानसँग कहिल्यै छुट्टिन नपरोस् भनेर । तर भइदियो उल्टो । त्यो दिन शोभाका लागि आँशु र शोकमा परिणत भयो । दिउँसो पुछियो उनको सिउँदो । तीजको रमझममा रमाइरहेको बेला उनका श्रीमानको तत्कालीन विद्रोही पक्षबाट हत्या हरियो । शोभाका श्रीमान सुरेन्द्र विसी नेपाली सेनाका जागिरे थिए ।
श्रीमानको हत्या भएको खबर तीजकै दिन आयो– त्यो क्षण सम्झिदा उनी अहिलेपनि बर्बरी आँशु झार्छिन् । त्यो घटनाले उनको त्यसदिनको तीज मात्रै श्यामश्वेत बनाएन । सारा जिन्दगी नै फिक्का बनाइदियो । उनको २१ वर्षको कलिलो उमेरमै सिउँदो पुछियो ।जिन्दगीको एउटा रथ नै सदाका लागि विदा भयो । उनी भन्छिन्,‘त्यसदिन मलाई कहिल्यै तीज आएन ।’ उनका लागि तीज पर्व होइन । कोतपर्व हो । तीजै दिनको उनको जीवनमा कोतपर्व घटेको थियो । देश द्धन्द्धको आगोमा थियो, र त्यो आगोले शोभा विसीको जीवन नै खरानी बनाइदियो ।
त्यस दिन उनका श्रीमान अर्घाखाँची जिल्लाको गणमा डिउटीमा थिए । तीजको अघिल्लो दिनमात्रै टेलिफोनमा कुरा भएको थियो, उनले भनेका थिए,‘चिन्ता नगर है,चाडपर्व सकिएपछि बिदामा आउँछु ।’ त्यो नै अन्तिम संवाद बन्यो शोभा र सुरेन्द्रको । कुराकानीको क्रममा परिवारको हालखबर सोधेका थिए । छोरीको बारेमा सोधीखोजी गरेका थिए,सुरेन्द्रले । जतिबेला छोरी तीन वर्षकी मात्रै थिइन् । उनले बुबाको मुखसमेत हेर्न पाइनन् ।
शोभा सुनाउँछिन्,‘त्यही राति नै श्रीमानको माओवादीले हत्या गरीदिएका थिए । शोभाले भोलिपल्ट अर्थात तीजको दिन श्रीमानलाई सम्पर्क गरिन् । तर कुरा हुन सकेन, किनकी उनको श्रीमान सदाकालका लागि नबोल्ने गरी अस्ताइसकेका थिए ।
उनका श्रीमानको २०५९ सालको भदौ महिनाको २३ गते अर्घाखाची जिल्लामा माओवादी र सरकार पक्षीय सुरक्षाबल बीचको संघर्षको क्रममा उनका श्रीमानलाई माओवादीको समूहले हत्या गरेको थियो ।
जब फोन आयो उनको आफन्तलाई । फोनको नम्बर हेर्दा गणको थियो । गणले भन्यो,‘सुरेन्द्र विसी सहिद हुनु भयो । मुठभेडमा सुरेन्द्रलाई गोली लागेको थियो । हामीले धेरै कोशिश ग¥र्यौ तर उहाँलाई बचाउन सकिएन ।’ त्यो भन्दा अप्रीय खबर के हुन सक्थ्यो र उनका लागि ।
बिहानको लगभग ११ बजेतिर, दर पकाउने तयारी गर्दै थिइन् । यो खबर जब शोभाको कानम प¥यो । तब उनको हातमा भएको दरको भाँडो खस्दै भुइँमा टुक्रियो । हातमा रहेको हरियो चुरा फुटेर टुक्रा–टुक्रा भयो । रातो सारीको रङ पलभरमै फिका भयो । बाहिर टोलमा गुञ्जिएको तीजको गीत उनको कानमा बारुदको आवाजझैं लाग्यो । तीजमा सजिएर बसेकी शोभाको श्रृङ्गार अध्यारोमा परिणत भयो ।
एउटा सम्झनाको नाइल नदी
२५ वर्ष अघिको तीजलाई उनी सम्झन्छिन् । श्रीमानसँग शिवालयको भीडमा हात समातेर हिँडेको,दरको मिठो टुक्रा मुखमा राखिदिएको,महेन्दीको रङ देखाउँदै हाँसेको र प्रेमले भरिएको त्यो दिन । २०५९ सालको तीजमा भने त्यो हात चिसो भइसकेको थियो, र त्यो हाँसो कहिल्यै फर्केर नआउने भयो । यो बिछोड सामान्य रोगले होइन, युद्धको बन्दुकले ल्याएको भयंकर दुःखान्त थियो ।
शोभाले आफ्नो श्रीमानले पठाएको चिठ्ठीहरू अहिलेपनि सम्हालेर राखेकी छिन् । त्यो चिठ्ठी उनका श्रीमानले मृत्यु हुनु भन्दा केही दिन अगाडी पठाएका थिए । क्रिया गरिरहेको बेला उनले प्राप्त गरिन् । त्यो चिठ्ठी उनका लागि एक अमूल्य र गहिरो सम्झना बन्यो । र हरेक तिजको बेला उनी त्यही पत्र पढ्ने गर्छिन् । अनी श्रीमानको सम्झनामा झरेका आँशु बगेर नाइल नदी बन्छ ।
व्रतको अर्थ हरायो
तीजमा बस्ने व्रतले पतिको दीर्घायु र दाम्पत्य सुखको कामना गरिन्छ । तर, त्यो दिन शोभा विसीको लागि व्रत औपचारिकता जस्तो भयो । उनको स्वर टुट्यो । उनले तीजमा सधैं श्रीमानको लागि प्रार्थना गरिन् । तर युद्धले उनको त्यो प्रार्थनामा गोलीले छेडिदियो ।
सहर र द्धन्द्धको दुई रूप
एक छेउमा तीजको गीत, महिलाहरूको हाँसो, मिठो दरको सुवास थियो भने अर्को छेउमा बारुदको गन्ध, शव बोकेको जीप, र विधवाको रोधन । द्धन्द्धकालमा खुशी र दुःख एउटै दिनमा, एउटै देशमा, तर फरक संसारमा बाँचिरहेका थिए ।
साँझको आकाश रातो र सुनौलो रंगमा डुबिरहेको थियो, तर शोभाको आँखामा त्यो रंगको कुनै अर्थ बाँकी थिएन । बाहिर टोलभरि गीतको ताल र चूडिको झन्झनाहट अझै गुन्जिरहेका थिए, तर उनको कानमा एक आवाज बाँकी थियो – गणबाट आएको त्यो फोन, जसले उनको जीवन टुक्र्याइदिएको थियो । हातमा बाँकी रहेका चुराहरू उनले बिस्तारै खोलेर घरको पेटिमा राखिन्, जस्तै आफ्नो सपना बन्द गर्दै । मन्द स्वरमा उनले शिवलाई उद्दत गर्दै भनिन्,‘यस तीजमा म केही माग्दिन, उहाँ जहाँ हुनुहुन्छ , शान्ति मिलोस्’ ।
साभारः नेपाल प्रेस युनियन बाँके बुलेटिन