नेपालगन्ज–१० नाइट रनको तयारी तीव्र
Friday, August 29th, 2025, 7:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, भदौ १३ गते
नेपालगन्ज १० नाइट रनको तयारी तीब्र गतिमा अगाडी बढेको छ । नेपालगन्ज–१० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् ।
समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् ।
नेपालगन्ज–१० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरोअजवानिचकर्नले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी, अफिसियल लगायतलाई बाङ्सेन सिरिजमा निःशुल्क दर्ताका साथै आतिथ्यता गरिनेछ भने बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा नेपालगन्ज म्याराथनले सोही सुविधा प्रदान गर्नेछ ।
‘यो सहमतिले नेपाली धावक, आयोजक, अफिसियललगायतलाई सिक्ने अवसर मिल्नेछ । धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भन्नु भयो, ‘छिमेकी देशमै विश्वस्तरीय म्याराथन आयोजना भइरहेका छन् । यसको लाभ लिनेतर्फको अग्रसरता हो । यसको लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई बिशेष धन्यवाद दिन चाहन्छु ।’
एशियाबाट भरपर्दाे अगुवाका रुपमा उदाएका बाङ्सेन सिरिजका संस्थापक रुट विश्व रनिङ मन्चमा आशालाग्दो अनुहार हुन् । बाङसेनको सिफारिसमा थाइल्याण्डबाट आउने पाहुनालाई नेपालगन्ज म्याराथन, नेपालगन्ज–१० नाइट रन, काठमाडौं २५ हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा सहभागी गराइने छ । यी सबै नेपालगन्ज म्याराथनकै सिरिज हुन् ।
वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण भएको नेपालकै सबैभन्दा सरल रुटमा हुने नेपालगन्ज नाइट रन हरेक असोज ३ गते (सेप्टेम्बर तेस्रो साता) संविधान दिवसका अवसरमा हुने गर्दछ, जहाँ नेपालकै पहिलो एम्स सदस्य धारा नेपालगन्ज म्याराथन ११ बर्षदेखि निरन्तर हुँदै आएको छ ।
बाङ्सेनसँगको साझेदारीपछि नेपालगन्ज म्याराथनका विजेता सहभागी हुने अन्तराष्टिय दौडको संख्या बढेको छ । यसअघि नेपाल रन (युके) सँगको सहकार्यमा विश्व प्रसिद्ध लण्डन म्याराथनमा विगत दुई बर्षदेखि अवसर दिंदै आएको छ । यसबर्षदेखि विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा सहभागी गराउने तयारी गरिरहेको छ । त्यस्तै, यसबर्षदेखि जापानको ओसाका म्याराथनमा समेत अवसर दिने तयारी छ ।
नेपालगन्ज म्याराथनको छातामुनि करिब आठ वटा इभेन्ट बार्षिक रुपमा नियमित आयोजना भइरहेका छन् । यसमा गौघाट ग्रीन रन असोज २८ गते, राप्तीसोनारी नेचर रन कात्तिक १ गते सन्चालन गर्ने तयारी रहेको छ । त्यसैगरी धारा नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिवार (नोभेम्बर तेस्रो साताको शनिवार) हुँदैछ भने त्यसको अघिल्लो दिन नेपालगन्ज कनक्लेवको पाँचौँ संस्करण हुनेछ ।
कर्णाली हाफ म्याराथन मंसिर अन्तिम शनिवार, काठमाडौं–२५के हेरिटेज रेस मे १ मा हुनेछ भने एम्ससँगको सहकार्यमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स अप्रिल मसान्तमा हुनेछ । एम्सको दुई वटा पुर्णकालीन सदस्यता लिने नेपालगन्ज नेपालको एकमात्र सहर हो ।