जलभित्रको फल ‘सिंगडा’ को खेती
Friday, September 5th, 2025, 10:00 pm
Kalpristha
रजनी योगी
नेपालगन्ज, २० भदौ
पानीभित्र मात्रै यसको खेती गरिने हुँदा यसलाई जलभित्रको फल भनियो । तराईमा गरिने यो खेती बाँकेमा पनि केही किसानहरूले ‘सिंगडा’ खेती गरिरहेका छन् । तर अन्यभन्दा ‘सिंगडा’ खेती कमै मात्रामा गरिएको पाईन्छ । ताल–तलैया पोखरीमा गरिने यस प्रकारको खेतीले किसानलाई परम्परागत अन्न बालीबालीबाट हुने आम्दानीभन्दा तुलानात्मकरूपमा यसले बढी दिन्छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीका कैलाश काँदुले १३ कठ्ठा जमिन ठेक्कामा लिएर ‘सिंगडा’ खेती गर्दै आउनुभएको छ । जेठ–असार महिनामा रोपेर करिब असोज–कार्तिकमा तयार हुने ‘सिंगडा’ को किरा मार्नका लागि अहिले विषादी हाल्ने र गोडमेलको काम भईरहेको छ । ‘सिंगडा’ पनि व्यवसायिक खेती नै भनेकाले अन्य खेती जस्तै खनजोत गररर रोप्नुपर्छ । ‘सिंगडा’ खानका लागि मात्रै प्रयोग गरिन्छ । यसलाई कांचै पनि खान सकिन्छ भने उमालेर र पिठो बनाएर हलुवाका रूपमा पनि खान सकिने काँदुको भनाई छ ।
‘सिंगडा’ खेती वर्षमा एकचोटी गर्ने गरिन्छ । ‘सिंगडा’ खेतीको लागि पर्याप्त मात्रामा पानीको आवश्यकता पर्दछ । तराई क्षेत्रमा अत्याधिक मात्रामा रुचाइने ‘सिंगडा’ खेती गर्न निकै मेहनत चाहिन्छ । सुरुमा जमिनमा लगाईने ‘सिंगडा’ बिस्तारै पानीभित्र डुबाउनुपर्छ । पुरै शरीर पानीभित्र राखेर काम गर्नुपर्ने भएकाले सबैले यो खेती गर्न नरुचाउने काँदुले बताउनुभयो । ‘सिंगडा’ को फल टिप्दा तलाउमा पानीको मात्रा धेरै हुने हुँदा डुंगाको प्रयोग गरिन्छ । ‘सिंगडा’ फल्ने सिजनमा ४० देखि ६० रूपैयाँप्रति किलोमा बिक्री हुन्छ ।
काँदुले ‘सिंगडा’ खेती गर्न लागेको करिब पाँच वर्ष भयो । उहाँले बिगत ५ वर्षदेखि एउटै जग्गा ठेक्कामा लिएर यो खेती गर्दै आउनुभएको छ । काँदु भन्नुहुन्छ, ‘एक सिजनमा ‘सिंगडा’ खेतीमा करिब एक लाख जति खर्च आउँछ भने खेती राम्रोसगँ उम्रियो भने ढाईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ काँदुले बार्षिक ५२ हजार जमिनदारलाई ठेक्का रकम बुझाउनुपर्छ । ‘सिंगडा’ बिक्री मात्रै नभई धानसँग साट्ने पनि चलन छ । कादँुको भनाई अनुसार १ किलो ‘सिंगडा’ बराबर २ किलो धान साटिन्छ ।
गत वर्ष उहाँले सोही जग्गामा ४० क्विन्टल ‘सिंगडा’ उत्पादन गर्नुभएको थियो भने केही मात्रामा धानसँग साटेर २५ क्विन्टल धान भित्र्याएको स्मरण गर्नुभयो । ‘सिंगडा’ को लागि बिक्री केन्द्र नजिकको शहर नेपालगन्ज हो । यहि पनि भारतीय सिमानासँग जोडिएकोले बाँकेभन्दा भारतबाट सस्तोमा आयात हुने हुँदा यहाँका किसानलाई मर्का पर्ने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘हामीले जेनतेन गरि पोखरीमा लाखौँ खर्च गरेर ‘सिंगडा’ खेती गछौँ तर बजारमा भारतीय सिंगडा सस्तो–सस्तोमा बिक्री हुदाँ हामी पनि सस्तोमा बिक्री गर्न बाध्य छौँ ।’ कादँुले मौसमी ‘सिंगडा’ खेती सिवाय परम्परागत अन्नबाली खेती जस्तै धान, गहुँ जस्तो खेती गर्दै आउनुभएको छ ।
नेपालगन्ज वडा नम्बर ११ का प्रेम कश्यपले पनि लामो समयदेखि ‘सिंगडा’ खेती गर्दै आउनुभएको छ । उहाँले पनि पालिकाबाट १० कठ्ठा जग्गा (तलाऊ) ठेक्कामा लिएर यो खेती गर्नु भएको छ । ठेक्का बापत उहाँले वार्षिक २० हजार पालिकालाई बुझाउन हुन्छ । कश्यपले ‘सिंगडा’ खेती दुई ठाउँमा लगाउनु भएको छ । गतबर्ष करिब ५० क्विन्टल ‘सिंगडा’ उत्पादनबाट दुई देखि दुई लाख पचास हजार रुपैयाँ जति आम्दानी गरेको उहाँले बताउनुभयो ।
‘सिंगडा’ खेतीमा धेरै मेहनत लाग्ने भएकाले किसानहरू यस प्रकारको खेतीमा त्यती चासो दिएका छैनन्, तर यसबाट अन्य बालीभन्दा बढी लाभदायी हुने उहाँको अनुभव छ । कश्यपले भन्नुभयो, ‘परिवारका दाजुभाई आ–आफ्नो अन्य व्यावसायमा लागे, तर मैले बुबाले गरेको यो कार्य गर्दै आएको छु, ‘सिंगडा’ खेती गर्न रुचाउछुँ ।’ उहाँले यही खेतीबाट भएको आम्दानीले आफुलगायत परिवारको खर्च सहजै टरेको बताउनुभयो ।