१४ महिनादेखि छैन भेरीमा ‘सिटीस्क्यान’ सेवा
Friday, November 7th, 2025, 7:18 am
Kalpristha
भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गिय नागरिकहरु आउने गरेका छन् । तर ‘सीटी स्क्यान’ सेवाका लागि बिरामी अन्यत्र जानु परिरहेको छ । भेरी अस्पतालमा धेरैजसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएका बिरामी आउने गर्दछन् ।
भिष्म लोध
नेपालगन्ज, २० कात्तिक
भेरी अस्पतालमा रहेको ‘सीटी स्क्यान’ मेसिन बिगे्रेको एक वर्ष भन्दा बढी भयो । गत वर्ष साउन महिनामा बिग्रिएको ‘सीटी स्क्यान’ मेसिन नबिन्दा यहाँ आउने बिरामीले दैनिक दुःख पाइरहेका छन् । तर अस्पताल प्रशासन भने समस्या समाधान गर्ने भन्दा बहाना बनाएर पन्छिने काम गरिरहेको छ । भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गिय नागरिकहरु आउने गरेका छन् । तर ‘सीटी स्क्यान’ सेवाका लागि बिरामी अन्यत्र जानु परिरहेको छ । भेरी अस्पतालमा धेरैजसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएका बिरामी आउने गर्दछन् ।
मेसिन संचालनको लागि प्रयास गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले जानकारी दिनुभयो । मेसिन बिग्रिँदा बिरामीले सास्ती खेप्नुपरेको भनेर संघीय सरकारलाई लगातार भेट्ने र मेसिन संचालनको लागि आग्रह गरिरहेको सुवेदीको भनाई छ । १४ महिनाअघि बिग्रिएको सिटीस्क्यान मेसिनले १३ वर्षदेखि सेवा दिँदै आइरहेको थियो ।
तर वर्षदिनदेखि सो सेवा पनि बन्द भएको छ । यसको मर्मतमा करोडौं रुपैया खर्च हुने र चल्ने नचल्ने कुनै सुनिश्चित नहुने भएकाले मर्मत गर्नुको औचित्य नरहेको डा. सुवेदीले बताउनुभयो । ‘मर्मतको लागि हामीले कम्पनीसँग कुरा ग¥यो, मर्मत गर्न मात्र एक करोड ३० लाख खर्च लाग्छ ।,’ डा.सुवेदीले भन्नुभयो, ‘तर यति रकम खर्च गर्दा पनि मेसिन कति दिन चल्ने भन्ने कम्पनीले ग्यारेन्टी छैन भनेको छ ।’
मेसिन पुरानो भएकाले अहिलेका ‘सीटी स्क्यान’ मेसिनले गर्नसक्ने काम यो मेसिनले नगर्ने डा.सुवेदीले जानकारी दिनुभयो । पहिला पनि ‘सीटी स्क्यान’ गर्नुपर्ने सबै कुराको ‘सीटी स्क्यान’ हुन सकेको थिएन । यहाँ गरिने ‘सीटी स्क्यान’ बाहेक अन्यको लागि बाहिर जाने गरेका थिए । अघिल्लो वर्षको साउन १३ गतेदेखि मेसिन बन्द छ ।
‘यसका लागि हामी धेरै पटक मन्त्रालय पुग्यौं, त्यस क्रममा पछिल्लो समयका तत्कालिन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले यो समस्या व्यवस्थापन गर्ने प्रतिक्रिया दिनुभएको थियो ।’ डा.सुवेदीले भन्नुभयो । उहाँका अनुसार सोही बेला मर्मतको लागि बजेट पनि आएको थियो । मर्मतको लागि कम्पनीसँग कुरा गर्ने र प्रक्रिया तथा दिर्घकालिन सम्भावना नदेखिएपछि मर्मत हुन सकेन ।
सरकारले टिचिङ्ग, पाटनलगायतका अस्पतालमा यो मेसिन खरिद गर्दा उपत्यका बाहिर पहिलो पटक नेपालगन्जमा मात्र पठाएको थियो । टिचिङ्ग, पाटन अस्पतालहरुमा यसभन्दा अघि नै नयाँ ‘सीटी स्क्यान’ मेसिनहरू खरिद गरिएको छ तर, बाँकेमा भने पुरानै मेसिनबाट काम चलाइएको थियो । लामो समयसम्म काम गर्दा बेलाबेला मेसिन बिग्रिँदै आएको थियो ।
अब यसले काम गर्न सक्ने अवस्थामा नभएको अस्पतालले जनाएको छ । अहिले ‘सीटी स्क्यान’ मेसिनको एक्स–रे ट्युब बिग्रिएको छ । यो मेसिन १६ सल्याइसको हो । सरकारले अब एक सय २८ सलाईसका मेसिन राख्ने मापदण्ड बनाएको छ । हाल अन्य सरकारी अस्पतालमा अहिलेको आधुनिका ‘सीटी स्क्यान’ मेसिन जडान छन् ।
त्यस्तै आधुनिक मेसिनका लागि संघीय सरकारलाई करिब १० औं पटक अनुरोध पत्र पठाइएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउनुभयो । ‘भेरीमा हामीसँग भएको ‘सीटी स्क्यान’ मेसिन धेरै पुरानो हो ।,’ अध्यक्ष शाहले भन्नुभयो, ‘मर्मत गर्ने भनेर पैसा आएको थियो तर पछिल्लो जेनजी आन्दोलनपछि खर्च रोकिएको भन्ने थियो पछि के भयो आफुलाई जानकारी छैन ।’
भेरी अस्पतलमा दैनिक करिब २०÷२५ जना ‘सीटी स्क्यान’ गर्नुपर्ने बिरामीको आउँने गरेका छन् । तर भेरी उक्त सुविधा नहुँदा बिमा भएको संजिवनी अस्पताल पठाउने गरेको अस्पताल प्रशासनले जनाएको छ । हालको आधुनिक मेसिन ल्याउनको लागि करिब सात करोड बढी रकम आवश्यक पर्छ । अस्पतालमा आउने बिरामीलाई गुणस्तरीय सेवा दिनको लागि ‘सीटी स्क्यान’ मेसिन अति आवश्यक पर्ने गर्छ । तर भेरीमा भने कहिले यो सुविधा पुनः संचालन हुन्छ भन्ने बारेमा टुङ्गो छैन् ।