रानीघाट पार्कः जसले तानिरहेको छ आन्तरिक पर्यटक
Wednesday, December 24th, 2025, 7:00 pm
Kalpristha
साबित्री बिश्वकर्मा
कोहलपुर, पुस ९
कोहलपूर नगरपालीका वडा नम्बर १३ मा रहेको रानीघाटपार्क आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको छ । विशेषगरी शुक्रबार र शनिबार बढि चलायमान हुने यस पार्कमा एकै दिनमा ६५ वटासम्म वनभोज समुहले वनभोज कार्यक्रम आयोजना गरेका छन् । रानीघाटपार्क व्यवस्थापन समितीको अध्यक्ष दिनेश कुमार वलीका अनुसार बाँके बर्दिया दाङ्ग र सुर्खेतबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।
यस पार्कको नजिकै हात्तिसार रहेको, प्राकृतिक स्रोतले भरिपूर्ण भएकोले वनभोजका लागि आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको अध्यक्ष वलीले बताउनु भयो । यस पार्क २०७९ साल फाल्गुन महिनाबाट सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘सबैभन्दा बढि एक शनिबार, ६५ वटा समुह आएका थिए हामीले व्यवस्थापन गर्न सक्यौ । व्यवस्थापन समितिका व्यक्तिहरुले कसैले भान्सा गर्न, भाँडाधुन, तरकारी तथा सर–सामानको लागि व्यवस्थापन गरिरहनु भएको छ । स्थानीय परिवारको देनले नै व्यस्थित तरिकाले काम गर्न सकिएको छ ।’
पार्क संचालन भएयता स्थानीयहरुलाई आम्दानीको लागि बाहिर जानुपर्ने अवस्था केही हदसम्म सुधार भएको अध्यक्ष वलीले बताउनु भयो । स्थानीय साउनी थारु पार्कमा आउने वनभोज समुहहरुलाई खाना बनाइदिने लगायतको काम गर्नु हुन्छ । यसरी स्थानीय स्तरमै काम गर्न पाउँदा आँफु र आँफु जस्ता महिलाहरुलाई स्थानीय स्तरमै आम्दानी गर्न सकिने साउनी थारुले बताउनु भयो । त्यस्तै निरा चौधरी पनि हरेक शुक्रबार र शनिबार पार्कमा व्यस्त हुनुहुन्छ । उहाँले पनि वनभोज समुहलाई सहयोग गर्ने काम गर्नू हुन्छ । जस वापत उहाँहरुले परिश्रमिक लिनुहुन्छ ।
अध्यक्ष वलीका अनुसार यस रानीघाट मध्यवर्ती सामुदायिक वन क्षेत्र अन्र्तगत २३० घरपरिवार रहेका छन् । स्थानीयहरुले उत्पादन गरेको तरकारी तथा खसीबाख्रा समेत वनभोज कार्यक्रममा उपभोग भैरहेकोले स्थानीयहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको स्थानीय स्वयंले बताउछन् । आँफूले पालेका बाख्रा घरैबाट उचित मुल्यमा बिक्री भैरहेको स्थानीय धनबहादुर रोकाले बताउनु भयो ।
पार्कमा आउने समुहहरुले त्यँहिको खसी बाख्राको मासु प्रयोग गर्नाले पर्यटकलाई पनि ल्याउने झन्झट नहुने र स्थानीय पनि लाभान्वित हुने वनभोजको लागि आउनुभएको दुर्गा खड्काले बताउनु भयो । उहाँभन्नुहुन्छ, ‘खाना देखि साउण्ड सिस्टम सम्म यहीपार्क व्यवस्थापन समुहले व्यवस्थापन गरिदिने हुनाले वनभोजको लागि आउँदा आयोजकले त्यस्तो केही जिम्मेवारी बोक्नु पर्दैन, स्वतन्त्र भएर रमाइलो गर्दै प्रकृति अवलोकन गर्न सकिन्छ ।’
अहिले खड्कवार हात्तिसारमा संग्राहलय समेत बनेको हुँनाले पर्यटक आकर्षणको केन्द्र बनेको छ । बर्दियाको मधुवननगरपालिकाबाट वनभोजको लागि आएकी शोभा बिकले प्राकृतिक सुन्दरताले भरिपूर्ण यस रानीघाटपार्क वरपरको वातावरण निकै मनमोहक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ खेल्नको लागि बनाइएका पिङ, फोटो खिच्ने स्पोट, हात्तिसार, खोला र माछा र संग्राहलयले वनभोजलाई अँझ रमणीय बनाउने रहेछ ।’
स्थानीयको उत्पादन, श्रम र साथले पार्क व्यवस्थापनमा अब्बल हुन सकेको पार्क व्यवस्थापन समितिका अध्यक्ष वलीले बताउनुभयो । सरसफाई, बत्ति, पानी र ठाँऊहरुको व्यवस्थापन गर्नमा सँधै अग्रसर रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा यसको सुन्दरतालाई कायम राख्दै पार्कलाई अझैँ व्यवस्थित बनाउने योजना रहेको छ । यस पार्क व्यवस्थापनमा स्थानीय परिवार संगै स्थानीय सरकार र प्रदेश सरकारले समेत साथ दिएको अध्यक्ष वलीले बताउनु भयो । उक्तपार्कमा स्थानीयहरुको लगानी र लाभ राम्रो रहेको देखिन्छ ।