निर्वाचन लड्न हिम्मत गर्ने महिलाहरु
Tuesday, January 27th, 2026, 7:59 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ माघ
बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि महिला उम्मेदवार चुनावमा होमिएका छन् । पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्ने र महिलाले नेतृत्व गर्न नसक्ने मानसिक्तालाई चिर्दै चार जना महिला प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा सहभागि भएका हुन् ।
उम्मेदवार बनेका धेरै पुरुष उम्मेदवारकाबीच उम्मेदवारी दिँदै चार जना महिलाले निर्वाचन लड्ने साहस देखाएका छन् ।
बाँकेको क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महत्तरा र भगवती शाहले उम्मेदवारी दिनुभएको छ । केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट, महत्तरा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी केसी लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुन उहाँले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सभा सदस्यका रुपमा रहँदा उहाँले थुप्रै योजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा सम्पन्न गर्नुभएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट प्रदेश सभा सदस्य बन्नुभएकी केसीले पदमा रहँदा ÷नरहँदा जनताको सेवामा खटिएको दाबी गर्नुभयो ।
‘प्रदेश तहमा अनुभव भइसकेको छ, संघीय संसद्मा पुगेर जनताका मुद्दा अझ प्रभावकारीरूपमा उठाउने लक्ष्य छ ।’ चुनावी मैदानमा भन्दै आउनुभएको छ । केसीले आफ्नो उम्मेदवारी विकास, सुशासन र महिलाको अधिकारलाई केन्द्रमा राखेर अघि बढेको बताउनुहुन्छ । उहाँले प्रदेश सभामा रहंदा शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै प्रतिनिधि सभामा पुग्दा त्यसलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
२०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा बाँके क्षेत्र नम्बर १ (१) मा तत्कालिन गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार केसी निर्वाचित हुनुभएको थियो । उहाँले १ हजार १ सय ३७ मतान्तरले विजय हासिल गर्नुभएको थियो । केसीले ९ हजार १ सय ३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्दी नागरिक उनमुक्ति पार्टीका सोमराज चौधरीले ७ हजार ९ सय ६६ मत पाउनुभएको थियो । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका तीनै जना महिला स्थानीय स्तरमा चर्चित अनुहार हो । आम जनता पार्टीबाट उम्मेदवारी दिनुभएकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जैसपुरकी शर्मा स्थानीय स्तरमा सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ । शर्मा जनताको दैनिक समस्या संसद्मा पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँले शिक्षा स्वास्थ्य लगायत स्थानीय मुद्दालाई उठाउँदै आउनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ सिर्जना टोल निवासी महत्तरा मजदुर किसान पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले सामाजिक समस्या, मतभेद, उत्पिडनलगायतका मुद्दा उठाउँदै आउनुभएको छ । खासगरी तल्लो तहमा जीवन निर्वाह गर्ने जनताको समस्या आफ्नो मुद्दा हुने गरेको महत्तरा बताउँदै आउनुभएको छ ।
यसैगरी बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाभार निवासी शाहले स्वतन्त्ररुपमा उम्मेदवारी दिँदै समाजको स्तर माथि उकास्न आफु निर्वाचनमा होमिएको दाबी गर्दै आउनुभएको छ । जनताको वास्तविक समस्यालाई उठाएर सुसज्जित समाज निर्माण गर्न आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ ।
बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका सरस्वती प्रसाद बर्मा र बिजय कुमार गुप्ता, क्षेत्र नम्बर ३ मा प्रदिप पौडेल र दिपक बहादुर शाही गरी चार जनाले उम्मेदावरी फिर्ता लिनुभएको छ । तीनवटै क्षेत्रमा उम्मेदवार फिर्ता भएसँगै क्षेत्र नम्बर १ मा १४ जना र क्षेत्र नम्बर २ मा २० जनाको उम्मेदवारी कायम भएको छ भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार गरी जिल्लामा ५६ जना उम्मेदवार बनेका छन् ।