महिला उद्यमीलाई बजारीकरणमा सघाउँदै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
Wednesday, January 28th, 2026, 10:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ माघ
महिला उद्यमीहरुको वस्तु तथा उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले नेपालगन्जमा १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ सुरु भएको छ । प्रदर्शनीमा पश्चिम नेपालका ७५ भन्दा बढी स्टलहरु रहेका छन् । बुधबार नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल महिला उद्यमी महासंघको केन्द्रिय अध्यक्ष दर्शना श्रेष्ठ, प्रदर्शनीको मुख्य प्रायोजक केएल दुगर्ड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेड, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।

………..
नगर प्रमुख विष्टले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न प्रदर्शनी महत्वपूर्ण सावित हुँदै गएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘ हामीले नीतिगत रुपमा महिला उद्यमीले गरिरहेको यो प्रदर्शनीलाई सहयोग गर्ने निर्णय गरेका छौं । यसले महिला उद्यमीहरुमा आत्मविश्वास बढदै जानेछ भन्ने हाम्रो विश्वास रहेको छ । उद्यमशीलताले आर्थिक विकासमा सहयोग गर्छ । तपाईहरुको यो कार्यक्रममा निरन्तर सहकार्य गरेर अगाडी बढनेछौ ।’
नेपाल महिला उद्यमी महासंघको केन्द्रिय अध्यक्ष श्रेष्ठले बाँकेले उत्कृष्ट काम गर्दै आइरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘ हामीले निकै खुसी छौं । विन बाँकेले देशभरमै उत्कृष्ट प्रदर्शनीको आयोजना गर्दै आएको छ । यसबाट अन्य जिल्लाका धेरै दिदीबहिनीहरुले सिकिरहनु भएको छ ।’ आयोजक महिला उद्यमी संघ नेपाल बाँके महासचिव विन्दु चर्तिमगरले संचालन गरेको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, केएल दुगर्ड ग्रुप महाप्रबन्धक छाजेडले प्रदर्शनीको सफलताको शुभकामना दिदैं महिलाहरुलाई व्यापार, व्यवसायमा लाग्न प्रदर्शनीले महत्वपुर्ण योगदान गरिरहेको बताउनु भयो ।
करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनीले नव –आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन आयोजना गदै आएको छ । एउटा सानो ठाउँबाट सुरु भएको महिला दिदीबहिनीहरुको प्रयास अहिले आर्थिक विकासमा अभियानको रुपमा परिचित हुँदै गैरहेको छ ।
प्रदर्शनी मार्फत हरेक वर्ष महिला उद्यमीहरुलाई नयाँ सीप र हौसला प्रदान गर्ने प्रयास गरिरहेको प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँके प्रथम उपाध्यक्ष आभा गौतमले बताउनु भयो । प्रदर्शनी महिला दिदीबहिनीहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणको लागि नयाँ सम्भावनाको खोजी गर्ने माध्यम बनिरहेको उहाँले बताउनु भयो ।
नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोग र केएल दुगर्ड ग्रुपको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका वस्तु, सामाग्रीहरु बिक्री तथा प्रर्वधनका लागि राखिएका छन् ।
प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी– कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको राखिएको महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनको आयोजना गदै आएको छ । एउटा सानो ठाउँबाट सुरु भएको महिला दिदीबहिनीहरुको प्रयास अहिले आर्थिक विकासको अभियानको रुपमा परिचित हुँदै गैरहेको छ । प्रदर्शनी मार्फत संघले हरेक वर्ष महिला उद्यमीहरुलाई नयाँ सीप र हौसला प्रदान प्रयास गरिरहेको छ । महिला दिदीबहिनीहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणको लागि नयाँ सम्भावनाको खोजी गर्ने माध्यम बनिरहेको छ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी ।
आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सिंहले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउने संकल्प सहित स्थापना गरिएको संस्था अहिले पश्चिम नेपालका महिला दिदीबहिनीहरुको लागि आसाको केन्द्रबिन्दु बनिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले महिलाहरुमा रहेका अन्तरनिहित क्षमतालाई व्यवसाय मात्र रुपान्तरण गर्दै लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीबाट महिलाहरुलाई आर्थिक उन्नतीको मार्गमा सबल र सक्षम बनाउन प्रेरणा प्रदान गरिरहेका छौं । यस प्रदर्शनीबाट हरेक वर्ष सयौं महिला दिदीबहिनीहरुले व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने नयाँ ज्ञान, सीप र अनुभवहरु आदान–प्रदान गरेर फर्कनु हुन्छ, यो प्रदर्शनीको एउटा महत्वपुर्ण उपलब्धी नै यही हो ।’

……….

………..
आयोजक महिला उद्यमी संघ नेपाल बाँके महासचिव चर्तीमगरले देशको आर्थिक विकासमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीले योगदान गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘आर्थिक विकासको लागि स–साना उद्योग, व्यवसाय, स्वरोजगारी दिने उद्योग, व्यापार महत्वपुर्ण हुन्छन् । त्यसलाई राज्यले प्रवद्र्धन गर्न जरुरी छ । प्रदर्शनीले हरेक वर्ष नयाँ महिला उद्यमी उत्पादन गरिरहेको देख्न पाउँदा हामीलाई पनि गर्व महशुस हुन्छ ।’

……….
प्रदर्शनी उदघाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापा मगर, नेपाल महिला उद्यमी महासंघका तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, नेपाल महिला उद्यमी महासंघका सचिव डिकिला शेर्पा, नेपाल महिला उद्यमी महासंघका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा, नेपाल महिला उद्यमी महासंघका केन्द्रिय सदस्य अनुजा राजभण्डारी, महिला उद्यमी संघ लुम्बिनी प्रदेश कोषाध्यक्ष एवम् विन बाँके पुर्व अध्यक्ष अन्जु गुरुङ्ग, महिला उद्यमी संघ नेपाल बाँके निर्वतमान अध्यक्ष साबित्रा पोख्ररेल, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लायन्स क्लबका पूर्व डिस्ट्रिक गर्भनर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उद्योगी, ब्यवसायी, नागरिक अगुवा, पत्रकार, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।