अमर सिंह पुनको अपिलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
Monday, March 2nd, 2026, 6:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ फागुन
अमर सिंह पुनले नेपाली जनताले अपेक्षा गरेको सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके क्षेत्र नम्बर–३ लाई समुन्नत बनाउने आफनो मुख्य प्रतिवद्धता भएको बताउनु भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका पुनले सुकुम्वासी, भुमिहिनहरुका समस्यालाई नीतिगत रुपमा सम्बोधन गर्नेको लागि नयाँ ढंगले काम गर्ने उहाँले बताउनु भयो ।
आफुलाई अत्याधिक मत सहित विजयी गराएर बाँके क्षेत्र नम्बर–३ का जनताले यस क्षेत्रबाट नेतृत्व गर्ने अवसर प्रदान गर्ने पुनले विश्वास व्यक्त गर्नु भएको छ । स्थानीय जनताका समस्यालाई सम्बोधन गर्न आफु सक्षम रहेको बताउँदै पुनले भन्नु भयो,‘घरदैलोका क्रममा आम मतदाताले हामीलाई अथाहा माया र विश्वास गर्नु भएको महशुस भयो । तर हामीले उहाँहरुको मनोभावनालाई बुझेर काम गर्न सकिरहेको छैनौं । जनतालाई सुशासन र विकास चाहिएको छ । त्यो आम नेपालीको चाहना पनि हो । हामी नयाँ नेतृत्व र नीति लिएर जनता माझ आएका छौं । नेपाली जनताको समृद्धिको सपना हाम्रो लक्ष्य हो ।’
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधान सभा सदस्य पुनले मानखोलाको कटानले बाँके क्षेत्र नम्बर ३ का धेरै जनताको जमिन कटानमा परेको समस्यालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भयो । बाँके क्षेत्र नम्बर ३ कृषि क्षेत्रबाट आर्थिक उन्नती गर्न सक्ने सम्भावना भएकोले यहाँको जनतालाई कृषिबाट आर्थिक उन्नती गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पुनले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपाली कृषकले आत्मसम्मान गर्न सक्नु पर्छ । नेपालले अब कृषि क्षेत्रलाई आर्थिक उन्नतीको सशक्त माध्यम बनाउनु पर्छ । त्यसको लागि नयाँ प्रविधि र नयाँ सोचको खाँचो छ । युवालाई कृषि क्षेत्रमा आर्कर्षित गर्न सकेमात्र यहाँको कृषि क्षेत्रको विकास गर्न सकिन्छ ।’
कृषि क्षेत्रको मुख्य समस्या, सिँचाई, उन्नत जातका बिउ, मल अभावको समस्या समाधानमा आफुले विशेष चासो दिएर काम गर्ने पुनले प्रतिवद्धता जनाउनु भएको छ । सिक्टा सिँचाई आयोजना र भेरी बबई डाईभर्सन आयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न पहल गर्ने उहाँले बताउनु भयो ।
बाँकेका युवाको भविष्यसँग जोडिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई खजुराबाटै संचालन गर्ने गरी व्यवस्थापन गर्न आफु कटिवद्ध रहेको पुनले बताउनु भयो । नौवस्ता आद्योगिक क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको लगानी भित्रयाउँदै युवाहरुलाई रोजगारीसँग जोडेर आर्थिक विकासमा योगदान गर्ने आफनो प्रमुख एजेन्डाको रुपमा रहेको पुनले बताउनु भयो ।
बाँके क्षेत्र नम्बर ३ मा भएका खेलकुद पुर्वाधारको स्तर उन्नती गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने योजना बनाएर काम गर्ने अमर सिंह पुनले प्रतिवद्धता जनाउनु भएको छ ।