पाटनमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने ९ जना अभियुक्तलाई चार मुद्दामा अनुसन्धान थालियो
Friday, September 4th, 2020, 11:13 am
amit
काठमाडौं, १९ भदौ । बिहीबार पाटनमा एक ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ९ जना अभियुक्तहरुलाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ।
बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको र महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। साथै उनीहरूलाई परिसरले शुक्रबार ललितपुर जिल्ला अदालतमा म्याद थपका लागि लैजाँदैछ।
परिसरका अनुसार संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भीडले प्रहरी जवान घिमिरेलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए। जवान घिमिरे भाग्न सकेका कारण उनको ज्यान जोगिएको थियो। टाउकोमा रहेको हेल्मेट नफुस्किएका कारण इँटा प्रहारबाट उनी बचेका थिए।
घटनापछि ललितपुर परिसरले बेलुका सिसिटिभी भिडिओसमेत अनुसन्धान गरी ९ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ललितपुर १६ गावाहलका महेश बज्राचार्य, ललितपुर ११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवि शाक्य, १६ का रविन शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका सुविन शाक्य, धुव्रराज बज्राचार्य, भक्तपुर ठिमी ८ का श्याम श्रेष्ठ र काठमाडौं १६ का यादवलाल कायस्थ रहेका छन्।
अन्य केहीलाई प्रहरीले पक्राउ सूचीमा राखेको छ भने सो घटनाम सबैलाई पक्राउ गरिने परिसरले जनाएको छ।