काठमाण्डौ उपत्यकामा होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गर्दै समय निर्धारण गरियो
Friday, September 4th, 2020, 11:56 am
amit
काठमाण्डौ, १९ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । होम डेलिभरीका लागि मापदण्ड स्वीकृत भएको र आजदेखि लागू हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालल जानकारी दिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले मापदण्ड तयार पारेको हो । निषेधाज्ञाको अवधिमा होम डेलिभरीको लागि दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्मको समय निर्धारण गरिएको छ।
स्थानीय प्रशासनले अघिल्लो हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिँन सक्ने बताउँदै सेवा बन्द गरेको थियो ।
स्वीकृत मापदण्डमा उल्लेख भएअनुसार होम डेलिभरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने, त्यसको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने, वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ, सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने र सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्नेछ।
यसैगरी होम डेलिभरीमा कार्यरत व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गरेको र साबुन पानीले नियमित हात धोएको तथा स्यानिटाइजरबाट हात सफा गरेको हुनुपर्ने छ । यसरी डेलिभरी गर्नै व्यक्तिको नाम, नम्बर संस्था स्पष्ट खुलाउनुपर्ने छ । मापदण्डमा माग बमोजिमको गुणस्तर कायम हुनुपर्ने, अतिरिक्त शुल्क लाग्ने भए पहिले नै जानकारी गराउनुपर्ने छ । तोकिएको बाहेकको सेवा सञ्चालन गर्न पाउने छैन।
बिल र बीजक अनिवार्य साथमा राख्नुपर्ने छ । घर दैलोमा सेवा पुर्याउनेले अनिवार्य रुपमा कम्पनीको लोगो र नामसहित व्यक्तिगत सुरक्षा उपकरण मास्क, फेस सिल्ड र स्यानिटाइजरको प्रयोग गरेको हुनुपर्नेछ । डेलिभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ।
यस्तै, घरदैलो सेवा प्रदान गर्ने संस्थाले सेवा दिने व्यक्ति र गाडीको विवरण प्रशासन कार्यालय, ट्राफिक प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराउनुपर्नेछ । स्थानीय प्रशासनले त्यसरी प्राप्त भएको विवरणअनुसार डेलिभरी गर्ने व्यवसाय र गाडीको आवश्यक संख्या निर्धारण गर्नेछ । यस्ता गाडी चार पाङ्ग्रे भएमा चालकसहित बढीमा दुई जना र दुई पाङ्ग्रे भएमा एक जना मात्रै हुुनु पर्नेछ।
सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनुपर्नेछ । विषयमा स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने र मापदण्ड विपरीत भए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन्। साथै यो मापदण्ड काठमाण्डौ उपत्यकाको तीनै जिल्लामा लागू हुनेछ ।