भारत–चीनबीच जारी सीमा विवाद टुंग्याउन मस्कोमा बैठक हुँदै
Friday, September 4th, 2020, 12:22 pm
amit
एजेन्सी, १९ भदौ । भारत र चीनबीच बढ्दै गरेको सीमा विवाद टुंग्याउनका लागि भारतका रक्षामन्त्री राजनाथ सिंहले आफ्ना चिनियाँ समकक्षी जनरल वेइ फेङहेलाई शुक्रवार साँझ मस्कोमा भेट्ने भएका छन्।
शांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकको साइडलाइनमा कुराकानी हुनेछ।
चार महिनादेखि चलिरहेको भारत र चीनबीचको सीमाविवादको अवधिमा यो पहिलोपटक उच्चस्तरीय राजनीतिक सम्पर्क कायम हुन लागेको हो।
यसैगरी लद्दाखमा जारी गतिरोधको अन्त्यका लागि दुवै पक्षको अनुरोधमा यो बैठक राखिएको बताइएको छ । दुवै पक्षका सैनिकहरू पूर्ण शक्तिका साथ लद्दाख सीमामा डटेर बसेका छन्।
भारतको विदेश मन्त्रालयका सहसचिव नवीन श्रीवास्तव पनि बैठकमा उपस्थित भएका छन्। उनले आफ्ना चिनियाँ समकक्षीसँग अनेकौं वार्ता गरी भारत–चीन सीमा विषयमा सल्लाह तथा सहकार्यका लागि प्रयास गरिरहेका छन्।
विवादित क्षेत्रमा चिनियाँ जनमुक्ति सेनासँग तनाव घटाउने हिसाबमा डिसइंगेजमेन्ट र डीएस्केलेसनका लागि प्रयास गरिँदैछ भने भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग पनि त्यही मञ्चमा सेप्टेम्बर १० मा वार्ता गर्ने कार्यक्रम रहेको छ ।