यसवर्ष रातो मछिन्द्रनाथको भोटो जात्रा नहुने
Friday, September 4th, 2020, 12:36 pm
amit
काठमाण्डौ, १९ भदौ । यसपटक कोरोना संक्रमणको बढ्दो जोखिमका कारण रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने भएको छ।
कोरोना भाइरस संक्रमणका कारण मुलुकमा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले सो जोखिम कम गर्न आज करुणामयको क्षमापुजा गरिने, आउँदो २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः भाद्र २६ गते यदि साइत प्राप्त भएमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९ औं जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले जानकारी दिएका छन्।
यसैगरी मच्छिन्द्रनाथको विधि प्रकृयाहरू हाल रथ भएको ठाउँमा सम्पन्न गर्ने र पछिल्ला वर्षमा विगतका वर्षहरूझैं जात्रा सुसम्पन्न गरिनेछ। साथै महर्जनले बिहीबार कुनै पनि आधिकारिकता बिना असम्बन्धित समूहबाट मच्छिन्द्रनाथको रथ तान्ने प्रयास भएको र सो दौरानमा स्थिति अराजक बनेकोप्रति घोर आपत्ति जनाएका छन्।
हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल र्पुयाएर भोटो जात्रा गर्ने गरिन्थ्यो भने यस वर्ष कोरोना संक्रमणको बढ्दो जोखिमका कारण भोटोजात्रा नगरिने भएको हो।