कोरोना विरुद्धको रुसी खोपले बलियो प्रतिरोधि क्षमताको विकास गर्यो, सेप्टेम्बरबाट उत्पादन थालिने
Saturday, September 5th, 2020, 1:27 pm
amit
एजेन्सी, २० भदौ । रुसमा विकास गरिएको कोभिड १९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका छन्।
सो खोपको परीक्षण जुन र जुलाइमा शुरू गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो भने उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्ता पछि बुस्टर डोज दिइएको बीबीसीले जनाएको छ।
सो खोपको परीक्षण १८ देखि ६० वर्ष उमेरका व्यक्ति समावेस समूहमा गएिको थियो र उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैमा तीन हप्ता भित्र नै रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो। अध्ययनका क्रममा सबैमा टाउको दुख्ने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट देखिएता पनि अन्य कुनै गम्भीर साइडइफेक्ट भने थिएन ।
हालै दि लेनसेट नामक जर्नलमा प्रकाशित रिर्पोट अनुसार सो खोपले बलियो प्रतिरोधि क्षमता विकास गरेको छ। सो खोपका विषयमा पर्याप्त अध्ययन नपुगेको र यसलाई अझै धेरै मानिसमा परीक्षण गरिनु पर्ने बेलायतको इम्पेरियल कलेजका एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक पिटर ओपेन्सोले बताएका छन्।
रुसी समाचारका अनुसार सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराएका छन्।
सो खोप मुख्य रुपमा निशर्त सुरक्षित हुनुका साथै भविष्यमा प्रभावकारी हुनुपर्नेछ । रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ।