टोखा नगरपािलकाका कर्मचारीमा कोरोना देखिएपछि टोखा नगरपालिका एक साता बन्द
Saturday, September 5th, 2020, 1:27 pm
amit
काठमाण्डौ, २० भदौ । टोखा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द हुने भएको छ।
काठमाडौँको टोखामा पछिल्लो समय केही कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि भदौ २१ देखि भदौ २६ गतेसम्म कार्यालय बन्द गर्न लागिएको नगरपालिले जनाएको छ।
नगरपालिकामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिएका छन्।
प्रशासकीय अधिकृत पौडेलका अनुसार कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कामहरु निरन्तर रुपमा सञ्चालन हुनेछ।
यसैगरी टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् भने जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसनमा र ४८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिएका छन्।
होम आइसोलेसनमा बसेर कोरोना उपचार गराइरहेका विरामीलाई दैनिक ३५० रुपैयाँ भत्तासमेत प्रदान गरिएको छ ।