पुनले खजुरामा नागरिक सम्पर्क कार्यालय स्थापना गर्ने
Friday, March 13th, 2026, 8:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ फागुन
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले खजुरामा नागरिक सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गर्नु भएको छ । गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नु भएका पुनले त्यस क्षेत्रका जनताको सुख–दुःखमा साथ दिने प्रतिवद्धता सहित नागरिक सम्पर्क कार्यालय स्थापना गर्न लाग्नु भएको हो ।
पुन गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा पराजित हुनु भएको थियो । निर्वाचनमा पराजित भएपनि उहाँले बाँके क्षेत्र नम्बर ३ का सम्पुर्ण मतदातालाई २४ वडामा पुगेर धन्यवाद दिनु भएको थियो ।
बाँके क्षेत्र नम्बर ३ को विकास र समृद्धिमा आफुले सहकार्य गर्ने बताउँदै पुनले भन्नु भयो,‘निर्वाचनको परिणाम मेरो पक्षमा आएन । तर बाँके क्षेत्र नम्बर ३ का जनताको माया र विश्वास नै मेरो सबैभन्दा ठुलो जित हो । म पदले होइन सेवा भावले तपाईहरुको प्रतिनिधि बनेको छु । त्यसेले अबका ५ वर्ष पनि म यहीँ तपाईहरुसँगै रहन प्रतिवद्ध छु । तपाईको हरेक क्षणमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’
बाँके क्षेत्रमा निर्वाचनमा समयमा पुनले प्रतिस्पर्धी दलका नेताहरुले ‘टुरिष्ट’ उम्मेदवारको रुपमा प्रचार गर्ने प्रयास गरेका थिए । पुनले बाँके क्षेत्र नम्बर ३ मा आफनो जमिन भएकाले अब यस क्षेत्रको स्थायी बासिन्दा बन्दैं समाज सेवामा सक्रिय हुने बताउनु भएको छ । निर्वाचनको क्रममा जनतासँग गरिएको प्रतिवद्धता र बाँके क्षेत्र नम्बर ३ को समस्या समाधानको लागि आफुले सक्दो प्रयास गर्ने पुनले बताउनु भयो ।