ललितपुरको लेले जङ्गलमा महिलाको शव भेटियो, मृतक अल्का अस्पतालकी कर्मचारी भएको पुष्टि
Saturday, September 5th, 2020, 2:07 pm
amit
काठमाडौ, २० भदौ । ललितपुरको लेले जङ्गलमा एक महिलाको शव भेटिएको छ । चुनिखेल घर भएकी ३९ वर्षीया गिता केसीको शव ललितपुरको गोदावरी नगरपालिका १० लेले जङ्गलमा फेला परेको महानगरीय प्रहरी वृत्त, चापागाउँले जनाएको छ।
उनी ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी रहेको पनि पुष्टि भएको छ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ। उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
केसीको परिवारले तीन दिनअघि महानगरीय प्रहरी परिसर जावलाखेलमा गिता हराएको उजुरी दिएको थियो । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ भने हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ।
प्रहरीका अनुसार केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन तरपनि पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।