चीनले भन्यो, ‘अमेरिकाले अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ’
Saturday, September 5th, 2020, 2:52 pm
amit
एजेन्सी, २० भदौ । अमेरिका र चीनबीच बढ्दै गरेको तनावका बेला चीनले अमेरिकालाई कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न आग्रह गरेको छ । बेइजिङमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेकी हुन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनसँग अमेरिकी सम्बन्ध तथा सहयोग घटाउँदै लैजाने र अर्को लटमा त्यस विषयमा अमेरिकाको थप निर्णय आउने बताएका थिए। प्रवक्ता मोर्गनको सो प्रतिक्रियापछि चीनका विदेशमन्त्रालयका प्रवक्ताको यो भनाई आएको छ।
पत्रकार सम्मेलनका क्रममा यसै विषयमा आएको प्रश्नको जवाफ दिदैँ प्रवक्ता हुवाले अमेरिकाले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्वहरुलाई बुझ्नुपर्छ र त्यसको पालना पनि गर्नुपर्छ भन्ने धारणा राखेकी छिन्।
प्रवक्ता हुवाका अनुसार विश्व कोभिड १९को महामारीमा फसेका बेला हरेक देशले यो महामारीको अन्त्यका लागि आवश्यक रुपमा मिलेर काम गर्नुपर्नेछ।
यस अवस्थामा विश्व स्वास्थ्य संगठनसँगको संलग्नता या अरु कुनै पनि विषयमा बेमेल राखेर नभएर मिलेर र समन्वय गरेर काम गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
हालैका केही समययता अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धलाई नै तोडिदिएको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायताको काम पनि रोकेको छ।
जसले गर्दा उक्त संगठन आर्थिक समस्यामा पनि फस्नसक्ने देखिएको विश्लेषण गर्न थालिएका समाचारहरु आइरहेका बताइएको छ।