रातो मच्छिन्द्रनाथको रथ आज दिउसो ३ बजे तानिने
Sunday, September 6th, 2020, 11:48 am
amit
काठमाण्डौ, २१ भदौ । रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ।
कोरोनाभाइरस संक्रमण जोखिमका कारण यस वर्ष मच्छिन्द्रनाथ रथलाई विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नभएकाले रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो।
आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताएका छन्।
उनका अनुसार मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नभएकाले तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने तयारी भएको छ। हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन भने गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी दिएका छन्।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने भएका छन् र रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाइने छ।
रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी दिए।
विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न सम्भव नभएकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनी क्षमापूजा गरिएको थियो भने यही आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ।