गुल्मीमा धारिलो हतियार प्रयोग गरी होटल व्यवसायीको हत्या
Monday, September 7th, 2020, 2:20 pm
amit
अर्घाखाँची, २२ भदौ । गुल्मीको इस्मामा एक होटल व्यवसायीका धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार इस्मा गाउँपालिका २ हस्तिचौरका २३ वर्षीय मोती बहादुर कुँवरमाथि सोमबार राती गम्भीर घाइते हुनेगरी कुटपिट भएको र बिहान ज्यान गएको हो।
मोती र उनका दाजु यमबहादुरले इस्मा गाउँपालिका १ हस्तिचौरको छिनुवा खोलामा होटल सञ्चालन गर्दै आएका जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ।
यम बहादुरले आफु ९ बजे बेलुकी घर गएको र बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्मे फेला पारेको बताएका छन्।
यस्तै अचेत अवस्थामा भेटिएका कुँवरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
जिल्ला अस्पताल गुल्मीका अनुसार अस्पताल ल्याउँदा मोतीको मृत्यु भइसकेकाले घोषणा मात्रै गरेको हो। मृतक कुँवरको टाउको र शरीरका विभिन्न भागमा चोटैचोट देखिएको छ। घटनास्थल इस्मा गाउँपालिकाको कार्यालयबाट करिब ४ किलोमिटर दक्षिणतर्फ रहेको इस्मा प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली र इस्मा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको छ। कुटपिटमा संलग्नको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।