चितवनको क्यान्सर अस्पतालमा आजदेखि पीसीआर परीक्षण सुरु
Monday, September 7th, 2020, 5:37 pm
amit
चितवन, २२ भदौ । चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोना परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै अस्पतालले सोमबारबाट प्रयोगशाला सञ्चालनमा ल्याएको छ।
आइतबार र सोमबार संकलन गरिएका १३३ वटा नमुनाको परीक्षण थालिएको छ भने रातिसम्म रिपोर्ट आउने र नेगेटिभ १० वटा नमूनाको भेरिफिकेशन परीक्षण गरिसकिएको छ भने, १० वटा पोजेटिभको टेष्ट गर्न बाँकी रहेको भरतपुर कोभिड प्रयोगशालामा भेरिफिकेशन टेष्ट गरिने डा. गौत्तमले जानकारी दिएका छन्।
यसैगरी अस्पतालले बी.पी. जयन्तीको अवसरमा भदौ २४ गते प्रयोगशालाको विधिवत उद्घाटन गर्नुका साथै अस्पतालले बिरामी र उनीहरुका कुरुवालाई पहिलो र स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई दोस्रो प्राथमिकतामा राखेर परीक्षण गर्ने जनाएको छ।
अस्पतालले बिरामी र उनीहरुका आफन्त तथा अन्य बाहिरी व्यक्तिहरुले परीक्षण गराएको शुल्क ३५०० तोकिएको छ ।
प्रयोगशालामा एक दिनमा ४०० नमुनाकोसम्म परीक्षण गर्न सकिने डा. गौत्तमले जानकारी दिएका छन् भने अस्पतालका ६ जना प्राविधिक दैनिकरुपमा यसमा खट्ने छन्।
अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन्। अस्पतालले पीसीआर परीक्षण गरेर मात्रै बिरामीको उपचार गर्ने नीति लिएको छ।
कार्यकारी निर्देशक डा. गौतमका अनुसार अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि प्रयोगशाला सञ्चालन अनिवार्य जस्तो हुन पुगेको हो।
कोरोनाबाट हालसम्म अस्पतालका ४६ जना चिकित्सक, नर्ससहितका कर्मचारी संक्रमित बनेका छन् भने १५ जना संक्रमणमुक्त भइसकेका छन्।