धनुषामा काठ नियन्त्रणमा लिँदा स्थानीयले गरे प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीसहित ५ जना घाइते
Monday, September 7th, 2020, 5:54 pm
amit
जनकपुरधाम, २२ भदौ । धनुषामा प्रहरी र काठ ओसार्न लागेको समूहबीच आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन्।
धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो।
धनुषाका प्रहरीका अनुसार प्रहरीले स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०÷७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको थियो।
उक्त आक्रमणमा परी प्रहरी निरीक्षक राय र प्रहरी जवान रामविश्वास पण्डित घाइते भएको छ भने दुबैको महेन्द्रनगर हेल्थकेयरमा उपचार भईरहेको प्रहरीले बताएका छन्।
उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरीको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ।
स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएका छन् र उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रहरीले दिएको जानकारी अनुसार उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको छ।
सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।