चीनले बनाएको कोभिड–१९ विरुद्धको खोपले ३ बर्षसम्म सुरक्षा दिने
Tuesday, September 8th, 2020, 1:24 pm
amit
एजेन्सी, २३ भदौ । हजारौँ चिनियाँ नागरिकलाई आपत्तकालिन योजना अन्तरगत कोभिड–१९ विरुद्धका दुई प्रयोगात्मक भ्याक्सिन दिइएकोमा हालसम्म कसैलाई पनि संक्रमण नदेखिएको राज्यको स्वामित्वमा रहेको खोप निर्माता कम्पनी चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी)का एक शीर्ष अधिकारीले जानकारी दिएका छन्।
(सीएनबीजी) कम्पनीले निर्माण गरेका कोभिड–१९ विरुद्धको दुई सम्भावित खोपले मानिसहरुलाई तीन वर्षसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्ने कम्पनीका कमिसन फर डिसिप्लीनरी इन्सपेक्सनका सेक्रेटरी झोउ सोङले दाबी गरेका छन्।
चिनियाँ राष्ट्रिय रेडियोसँग सोमबार कुराकानी गर्ने क्रममा कम्पनीले उत्पादन गरेका खोपहरु आपत्कालिन योजना अन्तरगत हजारौँमा सो खोप प्रयोग गर्दा कसैमा नकारात्मक प्रभाव वा संक्रमण भएको नपाइएको उनले बताएका छन्।
सुरक्षा र प्रभावकारिता निर्क्यौल गर्नका लागि यूएई, बहराइन, पेरु, मोरोक्को, अर्जेन्टिना र जोर्डनमा सीएनबीजीका दुई खोप अझै तेस्रो चरणको परीक्षणमा रहेको छ।
चीनमा गत जुलाईको अन्तिममा आपत्कालिन योजना शुरु गरिएको थियो जसमा उच्च जोखिममा रहेका समूह जस्तै स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका अधिकारीलगायतलाई खोप दिने अनुमति दिइएको थियो।
सेक्रेटरी झोउ सोङका अनुसार सो खोपको परीक्षणमा देशबाहिर काम गर्ने हजारौँ चिनियाँ नागरिक सामेल रहेको र उनीहरुमा हालसम्म संक्रमण नदेखिनुले यस खोपको प्रभावकारिता पुष्टि भएको हो।
हाल विश्वभर ८ वटा खोप तेस्रो चरणको परीक्षणमा रहेका छन् । यसमध्ये चारवटा चिनियाँ कम्पनीद्वारा निर्मित खोप रहेका छन् । तीनवटा चिनियाँ खोप – दुईवटा सीएनबीजी र एउटा सिनोभाकले बनाएको – लाई सर्वसाधारणमा आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ भने चौथोलाई सेनामाथि प्रयोगका लागि अनुमति छ । सिनोभाकको खोप हाल ब्राजिल र इन्डोनेसियामा प्रयोग भइरहेको छ ।
यसैगरी चीनको नागरिक उड्डयन प्राधिकरणले आफ्ना एयरलाइनका कर्मचारीलाई यी खोप लगाउनका लागि अनुरोध गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
झोउले खोपले छोटो समयका लागि मात्र सुरक्षा दिनसक्ने आरोपलाई खण्डन गरेका छन । उक्त खोपको परीक्षण सुरुमा सीएनबीजीको माउ कम्पनी चाइना नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म) का १८० कर्मचारीमा गरिएको थियो । झोउले उनीहरुमा अझै पनि उच्च तहको एन्टीबडी पाइएको र प्रतिरोधी क्षमता कम्तिमा एकदेखि तीन वर्ष कायम रहने बताएका छन्।
उनका अनुसार उक्त खोप लगाएपछि वार्षिकरुपमा लिइने अन्य फ्लूको खोप पनि लगाउन नपर्ने र सो खोप कोरोनाभाइरसका हालसम्म पत्ता लागेका सबै म्युटेसनका लागि प्रभावकारी रहेको छ।
सीएनबीजीले बेइजिङ र वुहानमा खोप निर्माण गर्ने उद्योग सञ्चालन गरेको छ । यसले वार्षिक २२ करोड खोप उत्पादन गर्न सक्छ भने थप फ्याक्ट्री निर्माण गरेपछि यो संख्या ८० करोड पुग्ने बताइएको छ।