काठमाण्डौ उपत्यकाको निषेधाज्ञा केही खुकुलो गरियो, भोलिदेखि के खुल्छ र के खोल्न पाइँदैन?
Wednesday, September 9th, 2020, 7:21 pm
amit
काठमाण्डौ, २४ भदौ । काठमाडौं उपत्यकामा बिहीबारदेखि ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार निषेधाज्ञा खुकुलो हुँदै केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाइएको छ।
‘निषेधाज्ञाको पनि विभिन्न स्वरूप हुन्छन्, निषेधाज्ञालाई कायमै राखेर पनि धेरैजसो क्षेत्र खोल्ने नखोल्ने निर्णय गर्न सकिन्छ,’ दाहालले भने, ‘आजको बैठकले त्यसरी नै निर्णय गरेको हो।’
उनका अनुसार अब सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा आएतापनि तर जोरविजोर लागू गर्दै स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ।
१४ सिटभन्दा माथिका सवारीसाधन चल्न पाउनेछन् तर, माइक्रो बस, टेम्पो भने चल्न पाउने छैन। यसैगरी ट्याक्सीलाई भने रोक लगाइएको छैन।
भोलिदेखि सबै खालका पसल खुल्नेछन् तर बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइने छ भने अब सपिङ मलहरू साताको तीन दिन मात्रै खुल्ने प्रजिअ दाहालले बताएका छन्।
यसैगरी कपडा, जुत्ताचप्पल पसलहरू पनि खुल्नेछन् भने अत्यावश्यकीय भनिएका खाद्यान्न, दुग्धजन्य वस्तुहरू पनि खोल्न पाइने छ।
बैंकहरू यसअघि नै सञ्चालनमा आइसकेको छ भने अब सहकारी पनि खोल्न पाइने छ।
वर्कसप, भाँडापसल, अनलाइन कक्षा, फेन्सी पसल खुल्ने छन्।
शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ।
उपत्यकाका सबै नाकाहरू साबिकझैं बन्द रहनेछन् भने उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ।
दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार खोल्न पाइने छैन। खुल्ला स्थानमा सभा(जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ–मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन।
उद्योग र कलकारखाना चल्न दिइन्छ। तर, स्वास्थ्य मापदण्डविपरीत चलाउन पाइँदैन। चाडपर्वमा हुने जमघट हुन दिइँदैन। शैक्षिक संस्था चल्ने छैनन्।
गोष्ठी, सेमिनार, शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन् भने चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहने छ। श्रमिक÷मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइने छैन।
निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो।
निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासन लचिलो भएको प्रजिअ दाहालले बताएका छन्। यसअघि मंगलबार सरोकारवाला सबै पक्षसँग छलफल गर्दा पनि चाडबाड नजिकिएका कारण आर्थिक गतिविधिहरू हुनुपर्ने राय पेश भएको थियो।
दाहालका अनुसार अहिले लागू भएको निषेधाज्ञाको पनि स्वरुप परिवर्तन हो। संक्रमणको अवस्थालाई मध्यनजर गरेर यो निर्णय क्रमशः हटाउने वा जारी राख्ने निर्णय हुनसक्ने दाहालले बताएका छन्।