बाँके बैजनाथमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको लागि जग्गा नापजाँच सुरु
Monday, March 30th, 2026, 8:52 pm
Kalpristha
कुलेन्द्र विश्वकर्मा
बैजनाथ, चैत १६ गते
बाँकेको बैजनाथ ८ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूकाे लागि जग्गा नापजाँचको काम सुरु भएको छ । बैजनाथ गाउँपालिका ८ चाँदनी चोकबाट जग्गा नापजाँचको सुरुवात गरिएको हाे । बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको सुकुम्बासी समस्या समाधान गर्न सरकारले एक पटकका लागि सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष निर्मला रोकायाले हिजो कसले के गरे, के गरेन भन्दा पनि आफूले आफ्नै कार्यकालमा लालपुर्जा आमनागरिक एवम् सर्वसाधारणको हातहातमा थमाउने कुरा व्यक्त गरे । विगतमा जगगा नापजाँच गर्न एउटै वडामा धेरै समय लाग्ने भएतापनि यसपालि भने नयाँ प्रविधिबाट छिटो समयमा नापजाँच हुने बताए।
आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि गाउँपालिका तयार रहेको बताउँदै सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरू सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले आग्रह गरे । एक बित्ता वा एक हातका लागि आपसमा समाजमा नलड्नका लागि पनि रोकाय आग्रह गर्दै जुन ठाउँमा झै-झगडा वा आपसी मेलमिलाप नापजाँच गर्ने नागरिकहरूले भूमिका खेल्ने बताए।