सीमाक्षेत्रमा झडपपछि रुसको मस्कोमा चीन र भारतबीच पहिलो सम्झौता
Friday, September 11th, 2020, 2:31 pm
amit
एजेन्सी, २६ भदौ । चीन र भारतबीच सीमा विवाद जारी रहेको बेला गत जुन महिनामा सीमाक्षेत्रमा भएको झडपपछि यी दुई देशबीच पहिलोपटक सम्झौता भएको छ । रुसको राजधानी मस्कोमा भएको चीन र भारतका विदेशमन्त्रीको भेटमा उक्त सम्झौता भएको हो।
चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुभ्रमण्यम जयशंकरबीच भएको भेटपछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा सीमा विवादले दुवै मुलुकलाई फाइदा नगर्ने उल्लेख गरिएको छ।
उक्त संयुक्त विज्ञप्तिमा दुई मुलुकको बीचमा भएको असहमतिलाई तनावको रुप लिन नदिने, दुवै पक्षका सेनाले वार्ता जारी राख्ने, छिटोभन्दा छिटो तनाव हटाउने, सीमा क्षेत्रमा दुवै देशले उचित दुरी कायम राखेर सेना राख्ने, दुवै मुलुकले अहिले कायम रहेका सम्झौता र मापदण्ड पालना गर्ने र तनाव बढाउने कुनै काम नगर्नेलगायतका सम्झौता भएको छ।
भेटवार्तापछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दुई मुलुकको बीचमा यस किसिमका सामान्य मतभेदहरु देखिनु सामान्य रहेको उल्लेख गरेको छ । यद्यपि यस किसिमका मतभेदहरुलाई सही तवरले समाधान गरिनुपर्ने चीनले उल्लेख गरेको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले भेटको क्रममा चीन र भारतको द्विपक्षीय सम्बन्ध सही दिशामा अघि बढिरहेको अवस्थामा कुनै समस्या उत्पन्न नहुने बताएका थिए। उनले भारतलाई झडप गराउने किसिमको उत्तेजक कायै नगर्न पनि आग्रह गरेका थिए।
भेटको क्रममा भारतीय विदेशमन्त्री जयशंकरले पनि भारतले चिनियाँ भूमि अतिक्रमण गर्न नखोजेको र भारतको चीन नीतिमा कुनै परिवर्तन नभएको बताएका थिए।