कैलाली प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि एसपीको नेतृत्वमा छानबिन समिति गठन
Saturday, September 12th, 2020, 2:59 pm
amit
धनगढी, २७ भदौ । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रोशन विकको मृत्यु भएपछि सो घटनाको छानविन तथा अनुसन्धानका लागि समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीले धनगढी उपमहानगरपालिका–५ का रोशनलाई गत भदौ २२ मा चोरी मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । शुक्रवार विहान हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले दावी गरेको छ।
उक्त घटनापछि मृतकका आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
प्रहरीले सर्टको पासोमा झुण्डेर आत्महत्या गरेको भनेपनि मृतकका आफन्तले उनको शरीरमा चोटपटक देखिएको हुनाले कुटपिटबाट मृत्यु भएको दावी गरेका छन्।
प्रहरीले छानबिन समिति गठन गरेपछि शुक्रबार साँझ नै पोस्टमार्टमपछि परिवारले शव बुझेका छन् भने सो छानविन समितिमा एसपी बस्नेतसहित चारजना रहेका छन्।
मृतकका बुवाले ‘घटनाको सत्यतथ्य छानबिन गरी पाऊँ’ भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।