गृहमन्त्री रामबहादुर थापा र पाकिस्तानी राजदूतबीच गृहमन्त्रालयमा भेटवार्ता
Sunday, September 13th, 2020, 6:09 pm
amit
काठमाण्डौ, २८ भदौ । गृहमन्त्री रामबहादुर थापा (बादल) र नेपालका लागि पाकिस्तानका राजदुत मझर जावेदबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
नेपालमा आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा र नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
राजदूत जावेदले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गर्नुका साथै नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताएका छन्।
यसैगरी राजदूत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने बताएका छन्।