जातीय विभेद मुद्दामा जिल्ला अदालत गुल्मीले काउछालाई ३ महिना कैद र ५० हजार जरिवाना
Monday, September 14th, 2020, 12:50 pm
amit
गुल्मी, २९ भदौ । जिल्ला अदालत गुल्मीले कालीगण्डकी गाउँपालिका फोक्सिङमा भएको जातीय विभेद मुद्दामा अभियुक्तलाई ३ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको छ।
छुवाछुत र जातीय विभेदको जाहेरी दर्ता भएको करिब २ महिनापछि कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ नुनथलाका नेत्रबहादुर काउछाविरुद्ध जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कालीगण्डकी उक्त फैसला गरेको हो।
साथै जिल्ला अदालत गुल्मीका श्रेस्तेदार भीमप्रसाद भुसालले दिएको जानकारी अनुसार फोक्सिङ देउरालीकै पीडित श्यामबहादुर नेपालीले १० हजार क्षतिपूर्ति पाउने फैसला भएको छ।
घटनाको विस्तृत विवरण
गुल्मीमा केही महिनाअघि जिल्लाको कालीगण्डकी गाउँपालिका फोक्सिङमा श्यामबहादुर नेपाली आफ्नो हजुरआमाको मृत्युपश्चात दाहसंस्कार गरी र्फकने क्रममा ठूलो हावाहुरी, असिनापानी परेपछि बाटोमा बनाउँदै गरेको नेत्रबहादुर काउछाको घरमा ओत लागेका थिए।
श्याम भने घरको पिँढीमा ओत लागे तर उनको साथमा रहेका अरु घरभित्र ओत लागेका थिए । दलितले ठूलो जातको घर छोएको र घरभित्र पसेको भन्दै श्याम र उनका बुवा धनबहादुरमाथि हालपात नै भएको थियो।
यसैगरी भोलिपल्ट स्थानीय भेला भई श्यामलाई १५ सय जरिवाना तिर्न लगाएर काउछाको घर चोख्याएका थिए । उक्त घटना सार्वजनिक भएपछि चर्को आलोचना र विरोध भयो।
त्यसपछि काउछाविरुद्ध जातीय भेदभाव तथा छुवाछूत, कसुर र सजाय, ऐनअनुसार जाहेरी दर्ता भएको थियोे । मुद्दा दर्ता भएको करिब २ महिनापछि जिल्ला अदालत गुल्मीले फैसला सुनाएको हो।