यसपालि दसैंमा खसीबोकाको मूल्य नबढ्ने खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीको अनुमान
Monday, September 14th, 2020, 1:46 pm
amit
काठमाण्डौ, २९ भदौ । यो बर्षको दसैंमा सरकारले तीन हजार खसी च्यांग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले मोफसलबाट १४ सय च्यांग्रा तथा १६ सय खसीबोका किनेर सर्वसाधारणलाई बेच्ने तयारी रहेको छ।
तीन हजारको हाराहारीमा लाइभस्टक ल्याएर बेच्न लागिएको कम्पनीले जानकारी दिएको छ भने यो संख्या अघिल्लो वर्षकै बराबर हो । गत वर्ष कम्पनीले तीन हजार २० खसी बोका तथा च्यांग्रा ल्याएको थियो।
यस बर्ष कम्पनीले खसीबोका च्यांग्राका खरिदका लागि पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ छुट्याएको छ भने कम्पनीले प्रतिखसी च्यांग्रा २० हजार रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। गत वर्ष ५ करोड ९८ लाख रुपैयाँ खर्च भएको थियो।
यो वर्ष पनि जिउँदो खसीबोका वा च्यांग्राको मूल्य गत वर्षकै बराबर हुने अनुमान गरिएतापनि खसीबोका खरिद लागत, ढुवानी तथा प्रशासनिक खर्चका आधारमा मूल्य तय हुने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार विनियोजित बजेट र खरिद संख्या गत वर्षकै बराबर नै रहेको छ भने जिउँदोको मूल्य अझै तय भइसकेको छैन।
कम्पनीले गत वर्ष हेटौंडा र तुल्सीपुरबाट खसीबोका तथा च्यांग्रा ल्याएको थियो भने यो वर्ष अन्य ठाउँबाट पनि ल्याउने तयारी गरिरहेको छ । च्यांग्रा भने मुस्ताङबाटै आउनेछन्।