जापानको नयाँ प्रधानमन्त्रीको लागि योशिहिदे सुगा मनोनित हुने पक्का
Monday, September 14th, 2020, 2:31 pm
amit
एजेन्सी, २९ भदौ । जापानको नयाँ प्रधानमन्त्रीका लागि अहिलेको सरकारका मुख्य सचिव योशिहिदे सुगा मनोनित हुने भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ नेता चुनेसँगै सुगा प्रधानमन्त्री बन्ने पक्का भएको हो।
सोमबार भएको आन्तरिक मतमा योशिहिदेले निकै सहज रुपमा जित हासिल गरेका थिए । उनले ५३४ मतमा ३७७ प्राप्त गरेको थियो भने उनले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्व रक्षामन्त्री शिगेरु इशिबा र पूर्व विदेश मन्त्री फुमियो किशिदाविरुद्ध जित हासिल गरेका हुन्।
प्रधानमन्त्री शिन्जो आबेले गएको महिना स्वास्थ्य कारण राजीनामा घोषणा गर्नुभएको थियो । आबेले राजीनामा दिएपछि धेरैले सुगा नै जापानको आउँदो प्रधानमन्त्री बन्ने अपेक्षा गरेका थिए।
बीबीसीका अनुसार योशिहिदे सुगा आबेको नजिकको सहयोगी मानिन्छन् र साथै उनले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन्।