कोरोनाविरुद्धको चिनियाँ खोप दुईदेखि तीन महिनासम्ममा आम मानिसका लागि उपलब्ध हुनसक्ने
Tuesday, September 15th, 2020, 1:38 pm
amit
एजेन्सी, ३० भदौ । चीनमा विकास भइरहेको कोरोनाविरुद्धको खोप दुईदेखि तीन महिनासम्ममा सर्वसाधारणको लागि उपलब्ध हुनसक्ने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ।
सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुले आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध हुने बताएकी छिन्।
आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको गुइजेनले उल्लेख गरेकी छिन्। रोयटर्सका अनुसार उनले आफूमा कुन खोप प्रयोग गरिएको छ भनेर खुलाएकी छैन।
त्यस्तै चीनका कोरोना भाइरसविरुद्धको चारवटा खोप हाल अन्तिम चरणमा प्रवेश गरिसकेको रोयटर्सले जनाएको छ। तीमध्ये तीनवटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ।
यसैगरी सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा भ्याक्सिन विकास गरिरहेका छन्। अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको छ। जसलाई गत जुनमै चिनियाँ सेनामा प्रयोग गर्न अनुमति दिइएको थियो।
सिनोफार्मले यसअघि नै यसैवर्षको अन्तिममा आफ्नो खोप सर्वसाधारणको लागि उपलब्ध हुने बताएको थियो।
हाल विश्वभर कोरोनाविरुद्धको खोप बनाउने प्रतिस्पर्धा चलेको छ। अमेरिका, चीन, रुस, बेलायतजस्ता देशमा बनेका खोपहरु हाल अन्तिम चरणको परीक्षणमा छन्।