नेपालका परराष्ट्रमन्त्री खनाल र बेलायतका विदेशमन्त्री मिलिब्यान्डबीच टेलिफोन वार्ता
Thursday, August 27th, 2026, 8:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ११ भदौं
परराष्ट्रमन्त्री शिशिर खनाललाई बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्री मिलिब्यान्ड एड मिलिब्यान्डले बिहीबार टेलिफोन गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री मिलिब्यान्डले बुधबार आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले विपद्को यस कठिन घडीमा बेलायत सरकार र जनताको नेपाल तथा नेपाली जनताप्रति ऐक्यबद्धता रहेको बताउनुभयो।
उहाँले बाढीबाट उत्पन्न परिस्थितिसँग जुध्न नेपाललाई सहयोग गर्ने बेलायत सरकारको दृढ समर्थन रहेको बताउँदै जारी खोज तथा उद्धार कार्यबारे जानकारी लिनुभयो। साथै, बाढीपछि सम्पर्कविहीन रहेका बेलायती नागरिकको खोजी तथा उद्धार प्रयासबारे पनि उहाँले चासो राख्नुभयो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यबारे जानकारी गराउँदै कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्ने बेलायत सरकारको तत्परताप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।