१९ घण्टा बितिसक्दा पनि कोरोना संक्रमितको शव व्यवस्थापन हुन सकेन
Monday, September 21st, 2020, 1:44 pm
amit
सप्तरी, ५ असोज । मृत्यु भएको १९ घण्टा बितिसक्दा पनि सप्तरीमा एक कोरोना संक्रमितको शव व्यवस्थापन भएको छैन । आइतबार साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेको छैन भने शवलाई आइसोलेसनको खुल्ला प्राङ्गणमा राखिएको छ।
खुल्ला ठाउँमा राखिएका कारण आइतबार रातदेखि भइरहेको अविरल अविरल वर्षाले शव भिज्न पुगेको मृतकका आफन्तले बताएका छन्।
बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थियो।
गत असोज २ गते श्वास प्रश्वासमा समस्या भएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपछि पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार दिउँसो पोजेटिभ आएपछि उनलाई आइसोलेसन केन्द्रमा पठाइए पनि त्यसको केही समयपछि उनको मृत्यु भएको थियो।
आइसोलेसनमा बसेका संक्रमितहरुका अनुसार शव खाना खानो ठाउँ नजिकै राखिएका कारण आइसोलेसनमा भर्ना भएका अधिकांश कोरोना संक्रमितले खाना समेत खाएको छैन। खाना खाने ठाउँदेखि २० मिटरको दूरीमा शव राखिएका कारण रातिदेखि नै धेरै मान्छेले खाना नखाएको एक संक्रमितले बताएका छन्।
संक्रमितको शवलाई खाना खाने स्थल नजिकै राखेपछि संक्रमितहरुले अहिले आइसोलेसन केन्द्रमा नाराबाजी गरिरहेका छन्।
स्थानीय पालिका प्रमुखले ध्यान नदिएका कारण शव व्यवस्थापनमा ढिलो भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्वीकार गर्नुका साथै मृत्यु भएकै समयदेखि शव व्यवस्थापनको तयारीमा रहेतापनि पालिका प्रमुखले मोबाइलको स्वीच नै अफ गरेका कारण शव व्यवस्थापनमा ढिलाइ भएको बताएका छन्।
उनका अनुसार शवलाई व्यवस्थापन गर्ने ठाउँसम्म लग्न नेपाली सेना तयारी अवस्थामा भएपनि पालिका प्रमुखकै कारण व्यवस्थापनमा ढिलो भएको हुनाले अब केही बेरमै शव व्यवस्थापन गरिनेछ।