कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) बनाउन समितिको निर्देशन
Monday, September 21st, 2020, 2:31 pm
amit
काठमाण्डौ, ५ असोज । संसदको विकास तथा प्रविधि समितिले आगामि कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण भइरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन समितिले निर्देशन दिएको हो।
नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुने भएकाले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो।
नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना समितिले माग गर्नुका साथै यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ।
समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ।