नवलपरासीमा प्याजको कालोबजारी गर्ने ५ पसललाई कारवाही
Monday, September 21st, 2020, 3:17 pm
amit
नवलपरासी, ५ असोज । नवलपरासीमा प्याज बढी मूल्यमा बिक्री गरेको अभियोगमा पाँच पसल कारवाहीमा परेका छन् । जिल्लाको (बर्दघाट–सुस्ता पश्चिम) स्थित प्याजको कालोबजारी गर्ने पाँच पसललाई आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे।
सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–२ का चारवटा र रामग्राम–७ का एक आलु प्याज गोदाम पसललाई प्याजको कालोबजारी गरेको अभियोगमा रु दुई लाख ६० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिएका छन्।
बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि आज सहायक प्रजिअ माझीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो।
केही दिन अघिसम्म प्याज प्रतिकेजी रु ५० बिक्री हुने गरेको थियो भने भारतले प्याज निर्यातमा रोक लगाएपछि प्रति केजी रु १३० सम्म पुगेको थियो । अहिले भने प्रतिकेजी १०० सम्म बिक्री हुने गरेको पाइएको छ भने प्रतिकेजी रु ४० मा खरीद गरी रु १०० सम्म बिक्री गर्ने गरेको स्वयम् व्यवसायीहरुले नै स्वीकार गरेको सहायक प्रजिअ माझिले बताएका छन्।
उनका अनुसार अनुगमनको क्रममा भूमहीमा पिकअप भ्यानमार्फत बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा रामग्राम–७ स्थित रामग्राम स्टोर्स, रामग्राम–२ को रौनियार स्टोर्स, तारा आलु स्टोर्स र बिना दर्ता व्यवसाय सञ्चालन गरेका गणेश रौनियारलाई रु ६० हजारको दरले जरिवाना गरिएको छ भने अंश स्टोर्सलाई रु २० हजारका दरले जरिवाना गरिएको छ।