कांग्रेस महामन्त्री पदको उम्मेदवार अमर सिंह पुनको सचिवालय बागबजारमा
Saturday, October 3rd, 2026, 6:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १७ असोज
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार अमर सिंह पुनले महाधिवेशनमा आउनु भएका सम्पुर्ण प्रतिनिधि तथा कांग्रेसका शुभेच्छुकहरुलाई स्वागत गर्नु भएको छ । काठमाडौैंमा असोज १८ गते देखि कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदैछ ।
काठमाडौंमा खुलामंचमा १५औं महाधिवेशनको उद्घाटन समारोह आयोजना गर्ने तयारी भैरहेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधान सभा सदस्य पुनले यस पटक महामन्त्रीमा उम्मेदवारी दिदैं हुनुहुन्छ ।
महाधिवेशनलाई सफल बनाउन देशभरबाट उत्साह जनक रुपमा आउनु भएका सम्पुर्ण महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ विचार र संगठनलाई बलियो बनाउने जिम्मेवारी सहित आफुलाई निर्वाचित गराउनु पुनले विश्वास व्यक्त गर्नु भयो ।
यसैगरी काठमाडौंमा महामन्त्री पदका उम्मेदवार अमरसिंह पुनको निर्वाचन लक्षित सचिवालय शनिबारबाट सन्चालनमा आएको छ । काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सचिवालय सन्चालनमा आएको हो । सचिवालयको जिम्मेवारी सम्हालेका अनुपम जिसीले आसन्न महाधिवेशन र निर्वाचन लक्षित सबै कामहरु यही स्थानबाट सुरु गरिएको बताउनु भयो । उहाँले भन्नु भयो,‘निर्वाचन लक्षित हाम्रा कामहरु होटल हार्दिकबाट सुरु गरेका छौ । होटलको दोस्रो तल्लामा सचिवालय बनेको छ । महाधिवेशन स्थल खुल्ला मन्च नजिकै भएकाले सचिवालय उपयुक्त स्थानमा राखिएको छ ।
सचिवालयमा उम्मेदवार पुनलाई भेटघाट गर्न नेता तथा कार्यकर्ताहरु आउनेक्रम चलिरहेको छ । सचिवालयमा कार्यकर्ता भेटघाटका क्रममा पार्टीका लुम्बिनी प्रदेश सभापति समेत रहेका महामन्त्री पदका उम्मेदवार पुनले आफुले पार्टीमा गरेको कामका आधारमा महामन्त्री पदमा उम्मेदवारी दिन लागेको र महाधिवेशनमा आउने प्रतिनिधिहरुले आफुलाई विश्वास गर्ने बताउनु भयो ।