रोल्पाको विकट गाउँबाट राजनीतिमा उदाएका अमरसिंह पुन कांग्रेस महामन्त्रीको उम्मेदवार
Sunday, October 4th, 2026, 12:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १८ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व हस्तान्तरण, संगठन सुदृढीकरण र नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने बहस तीव्र बन्दै गएको छ। यही बहसबीच लामो राजनीतिक संघर्ष, संगठन निर्माण र नेतृत्वको अनुभव बोकेका नेता अमरसिंह पुन महामन्त्री पदको दाबेदारका रूपमा चर्चामा आउनुभएको छ।
संघर्षबाट खारिएको राजनीतिक जीवन, संगठनप्रतिको निरन्तर प्रतिबद्धता र पार्टीभित्र फरक मत राख्न सक्ने साहसका कारण पुनको सम्भावित महामन्त्री उम्मेदवारीलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीलाई परम्परागत राजनीतिक संरचनाबाट बाहिर निकाल्दै युवा पुस्ताको भावना, जनताको अपेक्षा र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अगाडि बढाउनुपर्ने उहाँको धारणा छ।

………….
पुनको राजनीतिक परिचय कुनै एक पद वा निर्वाचनसँग मात्र जोडिएको छैन। गाउँबाट राजनीतिक चेत बोकेर राष्ट्रिय राजनीतिसम्म आइपुगेका उहाँले नेपाली कांग्रेसको संगठन निर्माणदेखि आन्दोलन, संसद्, सरकार र प्रदेश नेतृत्वसम्मका विभिन्न भूमिकामा आफूलाई स्थापित गर्नुभएको छ।
संघर्षबाट निर्माण भएको राजनीतिक पहिचान
वि.सं. २०२७ साल असार ३ गते तत्कालीन राँक गाविस–८, हालको गंगादेव गाउँपालिका–७, रोल्पामा वीरबहादुर पुन र नन्दु पुनका पुत्रका रूपमा जन्मिनुभएका अमरसिंह पुनको बाल्यकाल गाउँमै बित्यो।
मध्यम परिवारमा हुर्किनुभएका पुनले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट हासिल गर्नुभयो। काम विशेषले करिब १८ वर्षको उमेरमा भारत पुग्नुभएका उहाँले त्यहाँ हाईस्कुल तहको अध्ययन पूरा गर्नुभयो। बाल्यकालदेखि नै सामाजिक गतिविधिमा सक्रिय, निडर र नेतृत्वदायी स्वभावका पुनमा राजनीतिप्रतिको रुचि क्रमशः गहिरिँदै गयो।
राजनीतिक चेत भएको परिवारमा हुर्किएका कारण सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुने वातावरण उहाँले सानैदेखि पाउनुभयो। भारतबाट २०५० सालमा नेपाल फर्किएपछि गाउँघरका सामाजिक गतिविधिमा सक्रिय हुँदै उहाँ औपचारिक राजनीतिक यात्रातर्फ अघि बढ्नुभयो।
पञ्चायतविरोधी आन्दोलनदेखि बहुदलीय व्यवस्था स्थापनाको अभियानसम्म सक्रिय रहनुभएका पुनले रोल्पाको पश्चिम क्षेत्रमा नेपाली कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
वि.सं. २०४८, २०४९, २०५१ र २०५४ का निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन उहाँले संगठनात्मक तहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
द्वन्द्वको निशानामा परे, तर राजनीतिबाट पछि हटेनन्
नेपालको सशस्त्र द्वन्द्वका क्रममा पुनको राजनीतिक जीवन अझ कठिन बन्यो। २०५२ सालपछि सुरु भएको माओवादी हिंसाको निशानामा परेपछि उहाँका लागि रोल्पामा बस्ने अवस्था कठिन बन्यो। त्यसपछि २०५६ सालदेखि नेपालगञ्जमा बस्न थाल्नुभयो।
तर द्वन्द्वको प्रभाव त्यहाँ पनि बढ्दै गएपछि उहाँमाथि हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रशासनकै सल्लाहमा काठमाडौं स्थानान्तरण हुनुभयो। उहाँमाथि पटक–पटक आक्रमणको प्रयाससमेत भएको थियो।

…………..
जोखिमका बीच पनि उहाँको राजनीतिक सक्रियता रोकिएन। २०६२ र ६३ को दोस्रो जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका पुन प्रहरी दमनबाट घाइते हुनुभयो भने केही समय पक्राउसमेत पर्नुभयो । राजनीतिक संघर्षका ती कठिन दिनहरूले नै पुनको नेतृत्वलाई थप परिपक्व बनाएको उहाँनिकट नेताहरू बताउँछन्।
कांग्रेस संगठनमा निरन्तर सक्रिय
पुन नेपाली कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखि निरन्तर महासमिति सदस्य रहँदै आउनुभएको छ। २०६२ सालमा सम्पन्न कांग्रेसको ११औँ अधिवेशनबाट रोल्पा जिल्ला कोषाध्यक्षमा निर्वाचित हुनुभएका उहाँ २०७२ सालमा सम्पन्न १३औँ महाधिवेशनबाट नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो ।संगठन निर्माण र कार्यकर्तासँगको निरन्तर सम्पर्क उहाँको राजनीतिक शैलीको महत्वपूर्ण पक्ष मानिन्छ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भई संविधानसभा सदस्य बन्नुभएका पुनले संसद्मा सार्वजनिक सुनुवाइ विशेष समिति र विकास समितिको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभयो। सरकारमा समेत उहाँले जिम्मेवारी सम्हालिसक्नुभएको छ। २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ सिँचाइ राज्यमन्त्री बन्नुभएको थियो।
सुशील कोइरालाका निकट सहयोगी
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग निकट रहेर काम गर्नुभएका नेताका रूपमा पनि पुनको छुट्टै राजनीतिक पहिचान छ।
कोइराला प्रधानमन्त्री रहेका बेला उहाँको दैनिकी तथा राजनीतिक कार्य सञ्चालनमा पुनले निकट रहेर सहयोग गर्नुभएको थियो। कोइरालाको राजनीतिक शैली, सादगी र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतालाई आफूले नजिकबाट सिकेको पुनले बताउँदै आउनुभएको छ। कोइराला परिवारसँगको निकटता र कांग्रेसभित्रको लामो संगठनात्मक अनुभवका कारण पनि पुनलाई पार्टीको केन्द्रीय नेतृत्वमा प्रभाव राख्न सक्ने नेताका रूपमा हेरिन्छ।
महामन्त्रीमा किन अमरसिंह पुन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पुनको सम्भावित उम्मेदवारीलाई उहाँको लामो राजनीतिक अनुभवसँग जोडेर हेरिएको छ।
महामन्त्री पार्टीको संगठनात्मक संरचना, नीति कार्यान्वयन र जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउने महत्वपूर्ण पद हो। पुनसँग जिल्ला संगठनदेखि प्रदेश नेतृत्व, संसद्, सरकार र आन्दोलनको अनुभव छ।
यही कारण उहाँले महामन्त्री पदमा उम्मेदवारी दिएमा त्यसलाई केवल पद प्राप्तिको प्रयासका रूपमा नभई संगठनलाई नयाँ ढंगले परिचालन गर्ने राजनीतिक प्रस्तावका रूपमा प्रस्तुत गर्ने तयारी गरेको बताइन्छ। पुनको जोड कांग्रेसलाई आम जनता र विशेषगरी युवाको भावनासँग जोड्दै बदलिँदो राजनीतिक परिवेशमा पार्टीको संगठनात्मक क्षमता बलियो बनाउनुपर्नेमा छ।
उहाँका अनुसार अहिले नेपाली कांग्रेसले जनताको निराशा चिर्ने, युवाको आशा जगाउने र देशको आर्थिक तथा सामाजिक रूपान्तरणको नेतृत्व गर्ने जिम्मेवारी लिनुपर्ने अवस्था छ। पुनको राजनीतिक दृष्टिकोणमा पार्टी नेतृत्व भनेको पद प्राप्ति मात्र होइन, संकटका बेला कार्यकर्ता र जनताको पक्षमा उभिने जिम्मेवारी हो।
‘जनताको निराशा चिर्न कांग्रेसले नेतृत्व गर्नुपर्छ’
पुनले पछिल्लो समय युवामा बढ्दो निराशा, राजनीतिक अस्थिरता र परम्परागत राजनीतिक शैलीप्रतिको वितृष्णालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै आउनुभएको छ।
उहाँ भन्नुहुन्छ, ‘नेपाली जनतामा देखिएको निराशा र डरलाई चिर्दै जेन्जीको मर्मअनुसार देशको समृद्धिका लागि काम गर्ने संकल्पसहित अगाडि बढ्नुपर्छ। नेपाली कांग्रेस अहिले आम जनता र युवाको भावनालाई बोकेर हिँडिरहेको पार्टी हो। जस्तोसुकै संकटको बेला पनि हामी देशलाई माथि राखेर काम गर्ने प्रतिज्ञा गर्छौं।’ यही राजनीतिक सोचलाई पार्टीको केन्द्रीय नेतृत्वमा लैजान महामन्त्री पद महत्वपूर्ण हुने उहाँको बुझाइ छ।
सादगी, सरलता र कार्यकर्तासँगको सहज सम्बन्ध उहाँको राजनीतिक शैलीका विशेषता हुन्। यही कारण कांग्रेसको प्रदेश राजनीतिमा उहाँले बनाएको प्रभावलाई अब राष्ट्रिय राजनीतिमा विस्तार गर्ने प्रयासका रूपमा महामन्त्रीको सम्भावित उम्मेदवारीलाई हेरिएको छ।
संघर्षबाट नेतृत्वसम्म
अहिले पुन बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनको तयारीमा समेत हुनुहुन्छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र आर्थिक गतिविधिका दृष्टिले तीव्र विकासको सम्भावना बोकेको बाँके–३ लाई उहाँले राष्ट्रिय विकासको नमुना क्षेत्रका रूपमा अघि बढाउने सपना प्रस्तुत गर्दै आउनुभएको छ।
क्षेत्र नम्बर ३ का स्थानीय समस्या राष्ट्रिय एजेन्डासँग जोडेर समाधान खोज्नुपर्ने उहाँको धारणा छ। बाँके–३ का जनताको भरोसालाई राजनीतिक जिम्मेवारीमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुनले यस क्षेत्रको विकासलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्नुभएको छ।
तर उहाँको राजनीतिक सक्रियता अब बाँके–३ को सीमाभित्र मात्र सीमित देखिँदैन। लुम्बिनी प्रदेशको नेतृत्व गरिसकेका पुनको नजर कांग्रेसको केन्द्रीय नेतृत्वतर्फ पनि सोझिएको छ। रोल्पाको गाउँबाट राजनीतिक यात्रा सुरु गरेका पुनले द्वन्द्वको कठिन समय झेले, निर्वासनजस्तो परिस्थितिको सामना गरे, आन्दोलनमा घाइते भए, संसद् पुगे, सरकारमा जिम्मेवारी सम्हाले र प्रदेश कांग्रेसको नेतृत्वसम्म आइपुगे।
अब कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उहाँको सम्भावित उम्मेदवारीले उहाँको राजनीतिक यात्रालाई अर्को मोड दिने देखिन्छ। राजनीतिमा पदभन्दा विचार र जिम्मेवारी महत्वपूर्ण हुने बताउने पुनका लागि महामन्त्रीको दौड संगठनलाई नयाँ ऊर्जा दिने, युवा पुस्तालाई कांग्रेससँग जोड्ने र जनतामा गुम्दै गएको राजनीतिक विश्वास पुनःस्थापित गर्ने अवसर बन्न सक्छ।
संघर्षले खारिएको राजनीतिक जीवन, संगठनमा लामो अनुभव र नेतृत्वमा आलोचनात्मक हस्तक्षेप गर्ने स्वभावका कारण अमरसिंह पुनको महामन्त्री उम्मेदवारी कांग्रेसको १५औँ महाधिवेशनमा चासोको विषय बन्ने देखिन्छ। अब प्रश्न एउटै छ—रोल्पाको गाउँबाट संघर्ष गर्दै प्रदेश नेतृत्वको शिखरमा पुगेका पुनले कांग्रेसको केन्द्रीय संगठनको महामन्त्रीका रूपमा नयाँ राजनीतिक अध्याय सुरु गर्ने अवसर पाउलान ? यसको उत्तर कांग्रेसको १५औँ महाधिवेशनले दिनेछ।