उजुरी परेपछि बाँके क्षेत्र नम्बर १ को निर्वाचन कार्यक्रम स्थगित
Sunday, October 4th, 2026, 3:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असोज
सहमति तोडिएपछि सुरु भएको विवादका कारण नेपाली कांग्रेस १५ औं महाधिवेशन जिल्ला निर्वाचन समिति बाँकेले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को निर्वाचन कार्यक्रम स्थगित गरेको छ । जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता मेहरसिंह खत्रीले केन्द्रिय निर्वाचन समितिलाई पत्र लेखेर स्थगित भएको जानकारी गराउनु भएको हो ।
क्षेत्र नम्बर १ मा खटिएका निर्वाचन अधिकृतबाट एक पक्षिय रुपमा निर्विरोध केन्द्रिय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति तथा प्रदेश सभापतिको सूची प्रकाशन भएको भन्ने उजुरी पर्न आएको र हालसम्म जिल्ला निर्वाचन समितिमा उक्त सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको भन्ने औपचारिक रुपमा मतदान अधिकृत कर्णबहादुर केसी समेतबाट कुनै जानकारी नआएको सहायक निर्वाचिन अधिकृत खत्रीले बताउनु भयो ।

…………….
यसैगरी मतदान अधिकृत कर्णबहादुर केसी निर्वाचन समितिको सम्पर्कमा नआएको हुनाले जिल्ला निर्वाचन समितिको कार्यालयले उल्लेख गरेको छ । पार्टीको केन्द्रिय महाधिवेशन आइतबारबाट काठमाडौंमा प्रारम्भ भईसकेको परिप्रेक्ष्यमा अर्को निर्णय नभएसम्मका लागि बाँके जिल्लाको प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्र नम्बर क र ख को निर्वाचन कार्यक्रम स्थगित गरिएको पत्रमा जनाइएको छ । बाँके क्षेत्र नम्बर १ को प्रतिनिधि सभा, प्रदेश सभा क र ख को कार्यसमिति, महाधिवेशन र प्रदेश प्रतिनिधिहरु सर्वसम्मत निर्वाचित भएको भन्दै मतदान अधिकृत केसीको हस्ताक्षरमा नामावली सार्वजनिक भएको थियो ।