आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
Tuesday, October 6th, 2026, 6:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २० असोज
अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
काठमाडौं क्षेत्र नं.४ चारबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
‘आदिवासी समुदाय तथा खेल क्षेत्रको उत्थानलाई प्राथमिकतामा राख्दै मैले उम्मेदवारी दिएको हुँ । पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर आवाज उठाउने छु । नेपाली कांग्रेसका आम प्रतिनिधिले मलाई चिनेका र बुझेका छन्,’ शेर्पाले भने ।
शेर्पाको उम्मेदवारी प्रस्तावकमा काठमाडौं–४ का विमलप्रसाद कोइराला, बारा–३ का रञ्जन भट्टराई र दोलखा–१ का बाबुकाजी बस्नेत रहेका छन् । यस्तै समर्थकमा सुनसरी–१ का किशोर राई, रुपन्देही–२ का दिर्घबहादुर केसी र चितवन–२ का विनोद ढकाल रहेका छन् ।
खेल क्षेत्रमा लामो अनुभव बटुलेका शेर्पा नेपाली फुटबलका चर्चित नाम हुन् । उनले खेल क्षेत्रलाई युवाको क्षमता विकास, अनुशासन र रोजगारीसँग जोड्दै यसको संस्थागत विकासका लागि स्पष्ट नीति आवश्यक रहेको बताए ।
उम्मेदवारी दर्ता गर्दै शेर्पाले भने, ‘कांग्रेसलाई समावेशी, युवा तथा खेलमैत्री पार्टीका रूपमा थप सुदृढ बनाउन सक्दो प्रयत्न गर्नेछु । खेल क्षेत्रसँग सम्बन्धित मुद्दालाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउनेछु ।’
विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पाले पार्टीको विभिन्न तहमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् ।