एसियन पेन्ट च्याम्पियनसिप कप यु-१८ नेपालगञ्जमा तीन दिन प्रदेश विजेताबीच प्रतिस्पर्धा
Wednesday, October 7th, 2026, 8:28 am
Kalpristha
गणेश राई
नेपालगन्ज, २१ असोज

………..
नेपालगञ्ज–११ स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको एसियन पेन्ट च्याम्पियनसिप कप फुटबल प्रतियोगिता यु -१८ अन्तर्गत लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका विजेता टोलीबीच नेपालगञ्जमा तीन दिन लगातार प्रतिस्पर्धा हुने भएको छ।
नेपालगञ्ज–११ स्पोर्टिङ क्लबका अनुसार २०८३ असोज २२ गतेदेखि २४ गतेसम्म नेपालगञ्ज रङ्गशालामा प्रत्येक दिन एक–एक खेल सञ्चालन हुनेछ। सबै खेल दिउँसो ३ः३० बजेबाट सुरु हुनेछन्।
प्रतियोगिताको पहिलो खेल असोज २२ गते लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका विजेता टोलीबीच हुनेछ। त्यस्तै, असोज २३ गते गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका विजेता टोली आमनेसामने हुनेछन्। अन्तिम लिग खेल असोज २४ गते लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विजेता टोलीबीच हुनेछ।
नेपालगञ्ज–११ स्पोर्टिङ क्लबले दिएको जानकारीअनुसार नेपालगञ्जमा हुने तीनवटै खेल लिग चरणमा सञ्चालन हुनेछन्। तीन प्रदेशका विजेता टोलीले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि उत्कृष्ट टोली नेपालगञ्ज चरणको विजेता बन्नेछ।
त्यसैगरी, नेपालगञ्ज रङ्गशालाबाट छनोट हुने विजेता टोली र काठमाडौं रङ्गशालामा सञ्चालन हुने खेलबाट छनोट हुने विजेता टोलीबीच २०८३ असोज २६ गते काठमाडौं रङ्गशालामा फाइनल भिडन्त हुनेछ।
उक्त फाइनलको विजेता टोलीले अल नेपाल च्याम्पियनसिपको नेपाल च्याम्पियन बन्ने आयोजक नेपालगञ्ज–११ स्पोर्टिङ क्लबले जनाएको छ।
यु ( १८ उमेर समूहका युवा खेलाडीलाई प्रदेश हुँदै राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले नेपाली फुटबलमा नयाँ प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपालगञ्जमा हुने खेलमा फुटबलप्रेमी दर्शकको समेत उल्लेख्य उपस्थिति रहने आयोजकको विश्वास छ।