१७ असोज, काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा हैदराबादले साविक उपविजेता चेन्नई सुपर किग्स ७ रनले हराएको हो । दुबई अन्तर्राष्ट्रिय रंगशाला हैदराबादले दिएको १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । चेन्नईका रवीन्द्र जडेजाले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार रोक्न सकेनन् । जडेजाले ५ चौका र २ छक्काको सहायतामा ५० रन जोडेका थिए । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन बनाउँदा फाप डु प्लेसिसले २२ तथा साम करनले अजिवित १५ रन जोडे । हैदराबादका टी नटराजनले २ विकेट लिँदा भुवनेश्वर कुमार र अब्दुल समदले १–१ विकेट लिए । त्यअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभर खेल्दा ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अर्धशतकीय इनिङ्स खेले । १९ वर्षीय प्रियमले अविजित ५१ रन बनाउँदै आईपीएलमा पहिलो अर्धशतक रन बनाए । यस्तै अविशेक शर्माले ३१ रन बनाउँदा मनिष पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नरले २८ रन बनाए । चेन्नईका दीपक चाहरले दुई विकेट लिँदा शार्दुल ठाकुर र पियुस चावालाले १–१ विकेट लिए । यससँगै हैदराबाद ४ खेलबाट ४ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई भने समान खेलबाट २ अंकसहित पुछारमा छ । यससँगै चेन्नईले लगातार तेस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा साविकको विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराएको चेन्नई दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो भने तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग ४४ रनले स्तब्ध भएको थियो । यता, सुरुआती दुई खेलमा पराजित हैदराबाद तेस्रो खेलमा भने विजयी भएको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग स्तब्ध भएको हैदराबाद दोस्रो खेलमा कोलकोत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भने उसले दिल्लीमाथि १५ रनको जित निकालेको थियो ।