भारतको यूपी बलात्कार र हत्या प्रकरण : योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारद्वारा थुप्रै अधिकृत निलम्बित
Saturday, October 3rd, 2020, 2:31 pm
amit
एजेन्सी, १७ असोज । भारतको उत्तर प्रदेशस्थित हाथरसमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या प्रकरण यतिबेला एकदमै पेचिलो बन्दै गएको छ।
पीडितप्रति प्रहरीको भूमिका विवादित भएको भन्दै चौतर्फी आलोचना भएपछि हाथरस क्षेत्रका थुप्रै प्रहरी अधिकारीहरुलाई योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले निलम्बन गरिदिएको छ। सोही प्रकरणमा जोडिएका त्यस क्षेत्रका अधिकांश अधिकृतलाई मुख्यमन्त्री आदित्यनाथको निर्देशनमा निलम्बन गरिएको हो।
सोही घटनालाई लिएर राजधानी दिल्लीस्थित जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएपछि शुक्रबार साँझ मुख्यमन्त्री आदित्यनाथले घटना भएको क्षेत्रका एसपी, डिएसपी, इन्स्पेक्टरसहित अन्य अधिकारीहरुलाई निलम्बन गरेको भारतीय मिडियाले उल्लेख गरेको छ।
यस्तै आदित्यनाथले उत्तर प्रदेशमा महिलाहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित भएको भन्दै चेतावनी पनि दिएका छन्।
उनले टुविटरमा लेखेका छन्, ‘उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित छ । उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ । तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ।’
हाथरस क्षेत्रमा रहेका एक गाउँकी १९ वर्षीया किशोरीमाथि गत सेप्टेम्बर १४ मा चार जनाले सामूहिक बलात्कार गरी भौतिक आक्रमण समेत गरेका थिए । प्रहरीले भने पीडितलाई न्याय दिलाउने भन्दा पनि दोषीसँग मिलेको भन्दै आम नागरिक सडकमा उत्रिएका थिए।