जिउँदै मान्छे इँटाभट्टामा जलाएको घटनाका थप एक आरोपी पक्राउ
Saturday, October 3rd, 2020, 3:34 pm
amit
रौतहट, १७ असोज । रौतहटको राजपुर नगरपालिका–४ स्थित शेख ईद्रिशको गोठघरमा करिब १ दर्जन व्यक्तिलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गर्ने पूर्वमन्त्री अफताव आलमलाई साथ दिने फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनीलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंगुल एरियाबाट पक्राउ गरेको प्रदेश २ का प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको हो भने प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्री रहेको खुलेको थियो।
२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन्।
सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको थियो । पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २–३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा भट्टाको मुग्रोमा हालेको स्वीकार गर्दै बयान दिएको प्रहरीले जानकारी दिएको छ।
बम विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते र २–३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।