सन्दीप आवद्ध टोली दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लियो
Sunday, October 4th, 2020, 7:25 am
amit
१८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा कोलकत्ता नाइटराइडर्समाथि १८ रनको जित निकाल्दै दिल्ली शीर्ष स्थान उक्लिएको हो ।
सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा पनि टोलीको हार टार्न सकेननन् । यस्तै इयान मोर्गानले ४४ रन बनाउँदा राहुल त्रिपाठीले ३६ रन तथा शुभ्नम गिलले २८ रन बनाए ।
दिल्लीका एनरिच नोर्ट्जले ३ विकेट लिँदा हर्सल पटेलले २ विकेट लिए । अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले समान १–१ विकेट झारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।
दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित रहँदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । रिषव पन्तले ३८ रन बनाउँदा शिखर धवनले २६ रन जोडे ।
बलिङतर्फ कोलकत्ताका आन्द्रे रुसेलले दुई विकेट लिँदा वरुण चक्रवर्ती र कमलेस नगरकोटीले समान एक–एक विकेट लिए ।
दिल्लीले सन्दीपलाइ भने बेन्चमा राखेकाे थियो ।
जितसँगै दिल्लीले ४ खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट समान ४ अंक भएको कोलकत्ता पाँचौं स्थानमा छ ।
दिल्लीले यसअघि पहिलो खेलमा पञ्जाबलाई हराएको थियो भने दोस्रो खेलमा चेन्नईमाथि जित निकालेको थियो । तेस्रो खेलमा भने ऊ हैदराबादसँग पराजित भएको थियो ।