यस वर्ष फूलपातीको बढाइँ सांकेतिक रुपमा मात्रै गरिने
Saturday, October 10th, 2020, 1:36 pm
amit
काठमाण्डौ, २४ असोज । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको फूलपाती बढाइँ यस वर्ष धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक रूपमा मात्र आयोजना गरिने भएको छ।
कोरोना संक्रमणका कारण सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन्।
त्यस्तै, यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ।
सैनिक प्रवक्ता पौडेलका अनुसार स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरिएको छ भने अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्ने चलन रहेतापनि यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ।
बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छिन्।
नेपाली सेनाले विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको संख्या १०० जनामा सीमित तुल्याइने छ।
अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताएका छन्।
उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ।