उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने स्वास्थ्य मन्त्रालयको निर्णय
Monday, October 12th, 2020, 6:00 pm
amit
काठमाण्डौ, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा कोरोना संक्रमित बिरामीलाई आइसीयु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने भएकाले तत्कालिन अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको बताएका छन्।
डा. गौतमका अनुसार कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आइसीयु, भेन्टिलेटर र अक्सिजन लगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको हो।
यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरेका छन्।
यसैगरी अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ।
मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन् भने त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन।